थम्मन थापा
गलकोट ,भदौ १३ –
क्षेत्री महिला समाज गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता एवं दरखाने कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै क्षेत्री समाज गण्डकी प्रदेश प्रतिनिधी सरस्वती रेग्मी कार्कीले जातीय सदभाव, क्षेत्रिय एकता र समृद्व समाज निर्माणमा क्षत्री समुदाय एकजुट हुनुपर्ने बताउनु भएको छ । यि र यस्ता कार्यक्रमले क्षेत्री बन्धुहरुको एकता थप बलियो हुने र आपसी सदभाव बढने उहॉको धारणा छ ।
क्षेत्री महिलाहरुलाई सामाजिक एकता, सदभाव सहित समृद्व समाज निर्माणमा प्रेरित गर्ने उद्येश्यले आयोजना गरिएको हो । कार्यक्रमको अवसरमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा ९ समुहको सहभागिता रहेकोमा सरस्वती माध्यमिक विद्यालय दुदिलाभाटी प्रथम, जनसेवा आमा समुह काफलठुटा द्वितिय र सिर्जनशिल आमा समुह भाटी बजार तृतिय भएका छन ।
सो अवसरमा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य हर्क पाण्डे, क्षेत्री समाज गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी, क्षेत्री समाज गलकोट नगरपालिकाका संस्थापक सदस्य लक्ष्मी खडका, महिला जागरण केन्द्र दुदिलाभाटीका अध्यक्ष दुर्गा पुन, क्षेत्री महिला समाज गलकोटका सचिव माया केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै क्षेत्री समुदायबाट २०७४ को एस ई ई परीक्षामा सरसस्वती माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने मिलन कुॅवर, र २०७५ मा सर्वोत्कृष्ट अंक ल्याउने सुदिप खत्रीलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । गीतमा संविधान उल्लेख महिला हिंसा, हक, अधिकार, समृद्व समाज निर्माणमा महिलाको भुमिका जस्ता सन्देश भाव बोकेका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई सामुहिक दर खुवाईएको थियो । कार्यक्रम क्षत्री महिला समाज गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका अध्यक्ष धना खत्रीको अध्यक्षता, क्षत्री समाज गलकोट नगर समिति उपाध्यक्ष सुमित्रा कार्कीको स्वागत र सचिव कमला खडकाको सञ्चालनमा सम्पन्न भएको थियो ।