स्याङ्जा,
भदौ १८ –
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना भएको हो ।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।
घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । तिज मनाएर फर्किएका महिलाहरु दुर्घटनामा परेको बताइएको छ ।