काठमाडौ
भदौ २४ –
बीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती मंगलबार मनाइँदैछ ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।
तर उहाँ नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गर्नुभएको थियो ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मनु भएको हो । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
बीपीको अगुवाइमा २००७ सालको क्रान्ति सफल भएको थियो । राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेको थियो ।
भारतमै रहँदा उहाँले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उहाँ २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो ।
उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । उहाँको मोदी आइन, हिटलर र यहुदी, बाबुआमा र छोरा, सुम्निमा लगायतका कृतिहरु चर्चित छन् । बीपी कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको सम्झनामा कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।
कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उहाले बताउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् । साथै केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरु संकलन गर्ने कांग्रेसले जनाएको छ ।
स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।