काठमाडौ
असोज ५ –
दसैंको अग्रिम टिकट बुकिङ आज (आइतबार) बाट खुलेको छ ।
टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा टिकट काट्न यात्रुहरुको भीड लागेको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच यही २६ गते बसेको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो ।
दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने विभागको अनुमान छ । व्यवसायी र विभागको सहमतिअनुसार आजबाट काठमाडौंदेखि पूर्व–पश्चिमका सबै स्थानसम्म पुग्ने लामो दुरीका सवारी साधनको टिकट खुलेको छ ।
अग्रिम टिकट बुकिङ खुला गरेसँगै यी संख्याका यात्रुलाई टिकट काट्न सहज हुने भएकाले सरोकारवालाको सहमतिपछि आजबाट अग्रिम टिकट बुकिङ खुलेको हो । अघिल्लो वर्षभन्दा यसवर्ष टिकट काट्न सहज भएको यात्रुहरुले बताएका छन् ।
बिहान ५ बजे देखि बेलुका ७ बजेसम्म यात्रुले टिकट काट्न सक्ने महासंघले बताएको छ । आइतबार बिहानबाट खुलेको अग्रिम टिकट बुकिङ २० गते सोमबारसम्म जारी रहने छ ।
यता सरकारले तोकेको भाडादरमा टिकट काट्न सर्वसाधारण यात्रुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।
डिलक्स, एसी र सुपर डिलक्सका नाममा व्यवसायीले यात्रुसँग बढी रकममा टिकट काट्ने प्रवृत्ति मौलाएपछि महाशाखाले यात्रुलाई सचेत गराएको हो ।