काठमाडौ
असोज १२ –
नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ ।
सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँएको छ। यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादशैँसँग रहेको छ ।