काठमाडौ
असोज १४ –
बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ ।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा कलाको प्रतीक हो ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ।
बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन्।
चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ।