कमल पौडेल
२६ असोज गुल्मी – गुल्मीको वामीटक्सारमा प्रत्येक २÷२ वर्षमा नौमति वाजा महोत्सव हुने भएको छ।
वामि विश्व सम्पर्क मञ्चले सँस्कृतिको प्रवद्र्धन गर्दै मौलिक नौमति वाजा संरक्षण गर्न सो महोत्सव गर्न लागेको साँस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझिले जानकारी दिनुभएको छ। यस अघि २०७३ र २०७५ सालमा गरिएको नौमति वाजा महोत्सव सफल भएको भन्दै अव हरेक दुई वर्षमा नौमति वाजा महोत्सव गर्ने निर्णय भएको वामी विश्व सम्पर्क मञ्चले जनाएको छ।
सोहि अनुरुप २०७७ आश्विन शुक्ल पूर्णिमा को २ दिन पछि अर्थात कार्तिककृष्ण पक्षको द्धितियाको दिन नौमति वाजा महोत्सव गर्ने निर्णय भएको प्रचार संयोजक रामकृष्ण कँडेलले बताउनु भएको छ। अर्को वर्ष असोजको १८ गते सोहि दिन परेको छ। महोत्सव संचालनको लागी चेक रिपब्लीकमा रहेका बैकुण्ठ रायमाझिको संयोजकत्वमा ३५ सदस्यिय साँस्कृतिक समितिको गठन गरेको छ। जसको उपाध्यक्षमा रमेश कंडेल (युगान्डा), उपाध्यक्ष (महिला) मा निर्मला रायमाझि (जापान), महासचिवमा होमनाथ खराल (कोरिया), सचिवमा यादु घिमिरे (कतार), कोषाध्यक्षमा ध्रुब केसि (कोरिया), सह कोषाध्यक्षमा शिव केसि (जापान) लगाएत रहनुभएको छ।
वामी जन्मघर भइ विभिन्न देशमा रोजगारीको शिलशिलामा पुगेका नेपालीहरुको संगठन वामी विश्व सम्पर्क मञ्च हो। सोहि मञ्च अन्तरगत नौमति वाजा महोत्सव सञ्चालन गर्न साँस्कृतिक समितिको गठन गरिएको हो। महोत्सव सम्पन्न गर्न वामी मा घर भएका सांसद देखि मेयर हुँदै प्रध्यापकहरु सवैलाई संरक्षक र सल्लाहकारमा राखिएको छ भने कलाकारहरु प्रेमराजा महत र नारायण रायमाझिलाई आमन्त्रित सल्लाहकारको रुपमा राखिएको छ।
विभिन्न देशमा छरिएर रहेका वामेलीको अनलाइनवाटै वैठक भेला हुने गरेका छन्। वामी विश्व सम्पर्क मञ्चले मुसिकोट नगरपालिका अन्तरगत रहेको साविक वामी गाविसको विकासमा योगदान पुर्याउँदै आएको छ।