हुमाकान्त पोखरेल, गुल्मी
१९ कात्तिक ।
दसैँ तिहार सकिएलगत्तै परदेशीहरु कर्मथलो फर्किन थालेका छन् ।
स्वदेशमा रोजगारीको अभावले गर्दा रोजिरोटिकै लागि उनीहरु परदेश फर्कन थालेका हुन् ।
अहिले गुल्मीको सदरमुकाम तम्घासका उदिनढुङ्गा र बुढाथोकी बसपार्कमा यात्रुहरुको भिड देखिन्छ ।
भने गाउँगाउँबाट सदरमुकाम भित्रने सवारी साधनमा पनि यात्रुहरुको निकै चाप रहेको छ ।
रेसुङ्गा नगरपालिकाका राहुल विश्वकर्मा दिल्ली जाने तयारीमा छन् । चाडपर्व मनाउन घर आएका उनी तिहार सकिएलगत्तै
कर्मथलो फर्किन थालेका हुन् । रोजगारीकै लागि विगत १५ बर्षदेखि दिल्लीमै काम गर्दै आएका उनी बाध्यताले घर छोड्दै छन् ।
‘गाउँमा रोजगार छैन, भएकोमा हाम्रो सोस् चल्दैन ।’ उनले भने, ‘चाडपर्व सकियो, खर्च चलाउन परदेश हिडियो ।’
छत्रकोट गाउँपालिका १ हुँगाका लिल बहादुर वि.क. पनि विगत १३ बर्षदेखि रोजगारीको शिलशिलामा भारतको राजधानी दिल्लीमै छन् ।
केहि बर्षका चाडपर्वमा घर आउने उनलाई दिल्ली नगई घरको जोहो चल्दैन् । होटलमा काम गर्दै आएका विकको छुट्टि एक महिनाको थियो ।
केहि बर्षपछि यसपालिको दसैँमा घर आएका उनी तिहार सकिएलगत्तै कर्मथलो फर्किएका छन् । ‘जन्मथलो गुल्मी भएपनि
कर्मथलो अर्कैको देशलाई बनाउनु प¥र्यो ।’ उनले भने, ‘समयमै नपुगे खान पुग्दैन ।’ कुनै काम पाए नेपालमै बस्ने इच्छ्या
हुँदाहुँदै पनि रोजिरोटीकै लागि गाउँ छोड्न बाध्य भएको गुनासो गरे ।
त्यसका साथै दिल्लीमा केहि नेपालीहरु सम्पन्न भएपनि अधिकाशं नेपालीहरुको अवस्था दयनिय भएको उनले बताए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका १ का राम बहादुर वि.क. पनि रोजगारीकै लागि विगत ११ बर्षदेखि बुटबल छन् ।
तिहार मनाउन घर आएका उनी तिहार सकिएपछि बुटबल फर्किए । ग्रिल उद्योगमा काम गर्ने उनले खर्च चलाउन काममा
फर्किन लागेको प्रतिक्रिया दिए । गाउँमा कतै पनि काम नपाइने र घरमा खालि बसेर पैसा नआउने भन्दै उनले कामकै लागि
घर छोडेको बताए ।
तर तम्घासबाट जाँदा टिकटको समस्या रहेको उनले बताए । मानिसहरु बाहिरिएसँगै केहि समयसम्म रमाइलो बनेका गाउँवस्तिहरु भने
सुनसान बन्दै गएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोकका ७६ बर्षिया मान बहादुर पोख्रेलले युवाहरुले गाउँ छोड्दा नरमाइलो हुने बताए ।
त्यसका साथै उनले तीनै तहका सरकार मिलेर गाउँगाउँमै रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
गुल्मीबाट पश्चिम नेपाल यातायात बस व्यवसायी संघ, गुल्मी यातायात व्यवसायी संघ, रेसुङ्गा यातायात व्यवसायी संघ
लगायतका संघ संस्थाले तम्घासबाट जिल्लाका विभिन्न गाउँ तथा बुटबल र काठमाडौसम्म बस र हायस छुटाउने गर्दछन् ।
तिहारपछाडको तेस्रो दिनसम्म पश्चिम नेपाल बस व्यवसायी संघका बसमा दैनिक दुई सय जनाको हाराहारीमा काठमाडौ जाने गर्दछन् ।
भने बुटबलमा पनि सोहि दरमै जाने गरेको कर्मचारी नारायण पन्थीले जानकारी दिए । अन्य यातायातका संघका हायस र बसमा पनि
दैनिक दुईदेखि तीन सयको दरमा मानिसहरु जिल्लाबाट बाहिरिने गरेका छन् ।