कार्तिक २५
प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेत
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष
पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो ।
स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री
बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ ।
सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति
दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको
छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घण्टा छलफल भएको थियो ।
ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री
रवीन्द्र अधिकारीको स्थानमा योगेश भट्टराईलाई नियुक्त गरे । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा आएपछि उनको
ठाउँमा भानुभक्त ढकाललाई ल्याइएको थियो । यसबाहेक ओलीले २१ महिनामा कुनै पनि मन्त्री हेरफेर गरेनन् ।
नेकपाले सोमबारका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय सदस्यलाई पार्टीको संगठनात्मक एकता मुख्य एजेन्डा रहेको
जानकारी गराइएको छ । ‘मन्त्रिपरिषद् पुनर्गठनका विषयमा खासै जानकारी छैन । त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो’,
प्रवक्ता नारायाणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सोमबार बिहान सचिवालय बैठक बोलाइएको छ । बैठकमा संगठनात्मक एकताको
विषयलाई मुख्य एजेन्डा बनाइएको जानकारी हामीलाई गराइएको छ ।’
महासचिव विष्णु पौडेलले संगठनात्मक एकतालागायत समसामायिक राजनीतिक विषयमा पनि छलफल हुने बताए । उनले समसामायिक
विषय के हुने भनेर थप खुलाएनन् ।
ओलीले नयाँ शिराबाट काम गर्न र मिर्गौला डायलासिस प्रक्रियापछि स्वस्थ अनि सक्रिय रहेको देखाउन चाहिरहेको जनाइएको छ ।
त्यसका लागि उनले बालुवाटारमै बसेर प्रदेश प्रमुखमा नयाँ नियुक्तिदेखि अन्य निर्णय लिँदै ‘फास्ट ट्र्याक’मा सरकारको काम
अगाडि बढाउन लागेका छन् । मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालदेखि सचिवालयका सबै सदस्यलाई उनले राजीनामा दिन
निर्देशनसमेत दिएका छन् ।