अनिल खत्री
गुल्मी ,मंसिर १३ – गुल्मीमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीले रुरु क्षेत्र गाउँपालिका ६ मा भोली १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । रुरु क्षेत्र गाउँपालिका ६ मा वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचन कार्यालयको तर्फबाट आबश्यक सम्पूर्ण तयारी पुरा भएको हो । निर्वाचनको मतदान स्थल निर्माण तथा कर्मचारी परिचालन लगायतका कामहरु सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ । जसको लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत ,८ स्वयमसेवक, २ जना सहयोगी गरि १४ जना कर्मचारी बिहिबारवाट मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मतदान स्थलको सुरक्षा को लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन मतदातालाई निरौलाले आग्रह गर्नुभयो । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षा तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।
निर्वाचनको लागि वडामा पुग्ने ४ स्थानका नाका आज रातिबाट बन्द गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्र्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् ।
त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेद्धवार रहेका छन् । वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।