सुरेश थापा,गुल्मी
पौष ८ -प्रदेशको प्रतिवद्धताः समृद्ध प्रदेश सुखी जनता भन्ने मुल नाराका साथ विपद पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी ५ नं प्रदेशको आयोजनामा सत्यवती गाउँपालिकाको सभाहल खैरेनी गुल्मीमा आज सम्पन्न भएको छ ।
गत साउन ६ गते राति परेको अविरल वर्षाका कारण सत्यवती गाउँपालिका वडा नं। ३ ठुलोलुम्पेक र वडा नं। ४ लिम्घामा गएको पहिरोका कारण ठुलो जनधनको क्षती भएको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमा आवास निर्माणका लागि संघिय सरकारबाट १० करोड विनियोजन भैसकेको र त्यसलाई तत्काल कार्यान्वयन मा ल्याउन कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद के।सी ले जोड दिनुभयो । विपद परेकै क्षेत्रमा कार्यक्रम संचालन गर्नु उचित लागेकोले प्रदेश सरकारले यसक्षेत्रलाई छनोट गरेको समेत उल्लेख गर्नुभयो ।
प्रदेश सरकारको आयोजनामा भएको सो गोष्ठीमा भुकम्प विध तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा। दिपक चाम्लागाई, प्रदेश योजना आयोगका विष्णु गौतम, बाबुराम पन्थि लगायतले आकस्मिक रुपमा आइपर्ने विपद न्यूनिकरणका उपाय, व्यवस्थापन, प्रदेश सरकारबाट संचालित कार्यक्रम, स्थानीय तहबाट गर्नुपर्ने पूर्व तयारी व्यवस्थापन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट जिल्लामा भए गरेका विपद व्यवस्थापन कार्यको जानकारी उद्धव पन्थिले गराउनुभएको थियो । सोहि अवसरमा प्रदेश सचिव शंकर प्रसाद खरेल लगायतले विपद व्यवस्थापन विषयमा प्रकास पार्नुभएको थियो ।
गोष्ठीको उद्देश्य माथी प्रकास पार्दै माधव शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । गोष्ठीमा गुल्मीका सबै स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष, प्रकाशकिय अधिकृतहरु ल्गायतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी तथा गुल्मी जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष कोशहरी निरौला को सभापतित्व रहेको कार्यक्रममा जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख तथा जनप्रतिनिधि, तिनै तहका सुरक्षा निकायका पदाधिकारी, चेम्वर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने स्थानिय तहका अन्य जनप्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन नारायण अर्यालले गर्नुभएको थियो ।