काठमाडौ
पौष १०
आज (बिहीबार) बिहान सूर्यग्रहण लागेको छ ।
अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लागेको ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।
नेपालमा बिहान ८.३० मिनेटमा सुरु भएको सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०.०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ ।
ग्रहण खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन। ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ। ग्रहणका बेला खाना खान, सुत्न नहुने तथा राशि विशेषका आधारमा हेर्न हुने र नहुने हिन्दु धर्मशास्त्रको मान्यता रहे पनि खगोलशास्त्रीहरुले भने यो एक खगोलीय अवस्था मात्र भएको बताउने गरेका छन् । वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
यसैबिच गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नदिएको स्पष्ट पारेको छ। गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सार्वजनिक बिदा नदिएको जानकारी दिए।