हुमाकान्त पोखरेल
गुल्मी १० पौष- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीको एकता टुंगिएको छ ।
साविकको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी) र साविकको नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको आपसि समझदारीमा एकता प्रक्रिया टुंगो लागेको हो । २०७५ जेठ ३ मा तत्कालिन माओवादी र एमालेबीच एकता भएपनि विद्यार्थीहरुको एकता प्रक्रिया भने टुंगो लाग्न सकेको थिएन । लामो समयसम्म पनि एकता प्रक्रिया सुरु नगर्दा संगठनलाई असर गर्ने भन्दै दुवै संगठनको आपसि समझदारिमा जिल्लाको एकता प्रक्रिया टुंगो लागेको हो । जसअनुसार दुवै संगठनका अध्यक्ष राजेन्द्र विक्रम कुँवर र भरत चन्द संयोजक रहने गरी ३३ सदस्यिय जिल्ला कमिटीको गठन गरिएको छ । जसमा अहिले २५ जना रहेका छन् भने बाँकी आठजना पछि मनोनित हुने संगठनले जनाएको छ । एकीकृत भएसँगै अनेरास्ववियूले संगठन विस्तार अभियानलाई पनि तिब्रता दिने जनाएको छ ।
बुधबार मदन आश्रित स्मृति भवनमा सम्पन्न जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आगामी माघ १५ गतेसम्म जिल्लाका सबै माध्यमिक विद्यालय तथा क्याम्पसमा इकाई कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका साथै तोकिएको समयमा सम्भव भए स्थानीय तहमा अधिवेसन गरी नेतृत्व चयन गर्ने र सम्भव नभए माघ १५ पछि जिल्ला कमिटी सचिवालयको बैठकले स्थानीय तह र जिल्ला अधिवेशनको मिति टुगां लगाउने निर्णय गरेको छ । हरेक स्थानीय तहमा इकाई कमिटी गठन र अधिवेसन गर्न जिम्मेवारी समेत तोकिएको अनेरास्ववियूका संयोजक चन्दले जानकारी दिए ।वैठकले प्रत्येक जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यले मासिक रुपमा लेबी संकलन गर्ने, २०७७ सालको भित्तेपात्रो प्रकाशन गर्ने तथा संगठन विस्तारको अभिलेख पठाउने र अध्यावधिक गर्ने पनि निर्णय गरेको छ । त्यस्तै बैठकले यसभन्दा अगाडी सचिवालयले गरेका निर्णहरुको अनुमोदन गरेको अर्का संयोजक कुँवरले बताए । सचिवालयले संगठन विस्तार संचालन प्रक्रियामा सहजताको लागि विभिन्न विभाग गठन गरेको थियो ।
जसअन्तरगत प्रशिक्षण विभागमा राजेन्द्र विक्रम कुँवर, आर्थिक विभागमा भरत चन्द, संगठन विभागमा श्रीराम महत, प्रकाशन विभागमा उदय अर्याल, खेलकुद विभागमा नविन अर्याललाई जिम्मेवारी दिइएको छ । प्रचार–प्रसार विभागमा हुमाकान्त पोखरेल, महिला विभागमा लक्ष्मी अर्याल, जनजाति विभागमा बल बहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा गुल्मीका इन्चार्ज दिनेश पन्थीले एकतावद्ध ढगंले संगठन विस्तार अभियानमा सहभागि हुन निर्देशन दिए । कार्यक्रममा नेकपाका जिल्ला सचिव विर बहादुर कार्की, विद्यार्थी इन्जार्च भुपाल पोखरेल, नेकपाका नेता हिरा एसी, विद्यार्थी सह इन्चार्ज ओम कार्की लगायतको उपस्थिति रहेको थियो ।