गुल्मी,
माघ ६ – गुल्मीको मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औधोगिक एवं व्यापार महोत्सव–२०७६ को तयारी तिव्र पारिएको छ।
आयोजकले आईतवार पत्रकार सम्मेलन आयोजना गरि तयारी तिब्र पारिएको जानकारी गराएको हो । कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्यस मुदल समारोह समिति संयोजक शुदर्शन शाक्यले मुसिकोटको पहिचान दिन, पर्यटनको विकास गर्न, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण हुने बताए । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महोत्सवले स्थानिय र वाह्य पर्यटक भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको ठम्याई छ । शाक्यले महोत्सवलाई मुसिकोट नगरपालिकाले पनि सहयोग गर्ने र मुसिकोट भित्र र वाहिर रहने सवैले सहयोग गर्ने अपेक्षा गरेका छन् ।कार्यक्रममा प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले नगरपालिका भित्र रहेको होमस्टेमा पाहुनालाई वस्ने व्यवस्था गरिने जानकारी दिए । महोत्सवबाट हुने आम्दानीले संस्थाको भवन वनाउने योजना भएको उनले बताए ।त्यस्तै स्टल व्यवस्थापन समितिका संयोजक सुन्दर प्रधानले महोत्सवमा १ सय ५० स्टल रहने, बताए । कृषि, शैक्षिक प्रदर्शनी, कला संस्कृतिका स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको पनि प्रधानले जानकारी दिए ।
महोत्सव सफल पार्न १७ सदस्यिय मुल आयोजक समिति, २३ ओटा विभिन्न उपसमिति, ९ सदस्यिय सचिवालयको गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
१२ दिन सम्म चल्ने महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने, ५ करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ। महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा खुल्ला राष्ट्रिय लोकदोहोरी गित प्रतियोगीता, खुल्ला पुरुष भलिवल प्रतियोगिता, अन्तरमावि छात्रछात्रा कपर्दि प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ। सो अवसरमा बाल उद्यान, विभिन्न झाँकी तथा नृत्य प्रदर्शन, र्याफ्टीङ, जातजाति तथा जनजातिहरुको खाना प्रदर्शन, हेलिकप्टरवाट विभिन्न दृश्यावोलकन लगाएतका कार्यक्रम सञ्चालन गरिने सचिव महेश्वर घिमिरेले जानकारी दिए। महोत्सवले नगरपालिकाको पहिचान स्थापित गर्ने, प्राकृतिक, भौगोलिक, जैविक विविधताको पहिचान गर्ने, औधोगिक, व्यापारीक, कृषि पशुपालन, उद्यमशिलताको प्रवर्धन गर्ने, पर्यटन, संस्कृति, धार्मिक क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने, लगानीका सम्भावित क्षेत्र पहिचान गरि लगानी जुटाउने आयोजकले जनाएको छ।