टोपलाल अर्याल
गुल्मी, ३ फागुन
७६ बर्षीया बृद्धा । २२ बर्षदेखि पाठेघरको समस्याले पीडित । कल्पना गरौ ५४ बर्ष कसरी बिताइन् । चार सन्तान भए । ठुलो छोरा जन्मिएपछि त्यो समस्या आयो । अहिलेसम्म कसैलाई बताइन्् । श्रीमान छैनन् । छोराछोरीहरु घरबारे भए । उनलाई ठयाक्कै सम्झना छैन । तर करिव १० बर्ष अघिबाट रिङ्ग पेशरी लगाएको स्मरण गरिन् । बुधबार मालिका गाउँपालिका ५ छापहिले स्वास्थ्यचौकीमा पाठेघर खस्ने रोगीहरुको स्कृनिङ, रिङ पेशरी तथा पाठेघरको मुखको निशुल्क परिक्षण शिविर राखेको थियो । लठ्ठीको साहाराले शिविरमा आएकी बृद्धाले पुन रिङ्ग पेशरी राखिन् । पाठेघर खसेका तथा जटिल समस्या भएका अधिकांश महिलामा खानपान, सरसफाई र जनचेतनाको कमी रहेको छ । ति बृद्धाले अझै पनि दुखकै काम गर्ने गरेको बताइन् । उमेरमा आराम पनि भएन । खाना पनि चाडपर्व पर्खनु पथ्र्यो । ‘मर्ने बेलामा पनि आराम भएन पहिले सुत्केरी भएको २० दिन नपुग्दै अर्मपर्ममा पुग्थ्यौ,’ उनले भनिन,‘ एक किलो मासुले सुत्केरी उम्काउँथे ।’
साढे दुई सयले सेवा पाए
७६ बर्षीया बृद्धाको जस्तै अवस्था गाउँमा बढ्दै गएको छ । महिलाहरुको यो स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मालिका गाउँपालिकाले वडास्तरिय निशुल्क पाढेघरको परिक्षण थालेको छ । मालिका गाउँपालिका ५ छापहिलेका एक सय ५० जना महिलाहरुले पाठेघर तथा यौन समस्याको परिक्षण गराएका छन् । जसमा तीन जना महिलामा पाठेघरको अत्यन्तै जटिल समस्या देखिएकाले थप उपचारको लागि वुटवल रिफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । त्यस्तै १० जना पाठेघर खसेका महिलाहरुलाई रिङ्ग पेशरी राखिएको छ । भने ४९ जना महिलामा विभिन्न खाले यौन रोगको समस्या देखिएको भुसालले बताए ।
केहि दिन अघि मालिका गाउँपालिका १ नेटा पनि ९२ जना महिलाले पाठेघर तथा यौन समस्याको निशुल्क सेवा पाएका थिए । जसमा छ जनालाई रिङ लगाएका थिए । गाउँपालिकाले वडा नं ६ अर्जेबेसीको कुमाल गाउँ र वडा नं ७ को घमिरमा पनि यो शिविर संचालन गर्ने संयोजक भुसालले बताए । मालिका गाउँपालिकाले गत बर्ष अर्जे, ह्वाङ्दी र अर्खाबाङका महिलाहरुको पाठेघरको परिक्षण गरेको थियो । पाठेघरको समस्या भएका अधिकांश महिलाहरुमा सरसफाई र जनचेतनाको कमी देखिएको स्वास्थ्य परिक्षणमा संलग्न गुुल्मी अस्पतालकी नर्सिङ्ग स्टाफ कमला रेश्मीले बताइन् । उनले स्वस्थ महिलाहरुले पनि ५÷५ बर्षमा एक पटक पाठेघरको परिक्षण गर्नुपर्ने बताइन् ।
गाउँगाउँमा स्वास्थ्य सेवा
गाउँपालिका प्रमुख रित बहादुर थापाले आर्थिक तथा सामाजिक क्षेत्रमा मालिका गाउँपालिका निकै पछि भएकाले स्वास्थ्यको योजनावद्ध विकासमा आफुहरु लागेको बताए । थापाले निशुल्क मुटु रोगको परिक्षण, आखाँ उपचार, पाठेघरको परिक्षण लगायतका महत्वपूर्ण शिविरहरु संचालन गरेको बताए । मालिका गाउँपालिकाले बर्थिङ्ग सेन्टर स्थापाना तथा स्तरवृद्धि, सामुदायिक स्वास्थ्य इकाई संचालन, घरमा शुन्य प्रसुति सेवा लगायतका महत्वपूर्ण कामहरु गरिरहेका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । मालिका गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष श्यामलाल गिरीको स्वास्थ्यको आधारभुत सेवा गाउँमै पुराउन पाएकोमा आफुलाई आत्मसन्तुष्टि मिलेको बताए । ‘सुत्केरी व्याथा लागे बोकेर सदरमुकाम पुग्ने अवस्थाको अन्त्य भएको छ,’उनले भने,‘पाठेघर खसेका महिलादेखि मोतियाबिन्दु भएकाले समेत गाउँमै सेवा पाएका छन् ।’
स्वास्थ्य चेतनाको अभाव ः डाक्टर पच्या
गुल्मीको ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले पाठेघर खस्ने समस्या बढ्दै गएको छ । छापहिले स्वास्थ्यचौकी इन्चार्ज देव बहादुर महतराले गाउँमा चेतना नभएका कारण महिलाहरु समस्या लुकाएर क्यान्सरको सिकार हुने गरेको बताए । उनले केहि दलित र बिपन्न वस्तीका महिलाहरुलाई पाठेघरको ठुलो समस्या भएकाले आफुले पटक–पटक स्वास्थ्य संस्थामा पुराएर अप्रेशन गराउन खोजे पनि भाग्ने गरेको बताए । पाठेघर खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या हुने गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । पच्याका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने गर्दछ । गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको पच्याले बताए । ‘गाउँको एउटा शिविरमा मात्रै डेढ÷दुई सय जना महिलाले समस्या लिएर आउँछन,’उनले भने,‘प्रत्येक स्थानीय तहमा स्वास्थ्य सचेतना कम्जोर रह्यो ।’ उनले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार र जनप्रतिनिधी भएकाले आमा नागरिकको स्वास्थ्य राम्रो बनाउन नयाँ प्रभावकारी योजना बनाउनुको विकल्प नभएको बताए ।