थम्मन थापा
फागुन ६, बागलुङ – बगाले थापाहरुको बाहुल्यता रहेको गलकोट नगरपालिका ७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको शालिक निर्माण हुने भएको छ ।
आगामी चैत दोस्रो हप्ता गलकोटमा हुन लागेको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरि शालिक निर्माण गर्न लागिएको बगाले थापा समाजका केन्द्रिय प्रतिनिधी छुम बहादुर थापाले जानकारी दिए । मल्म सानोखोला देखि बगाले थापा कुल मन्दिर, राम्चे ढुङगा हुँदै पर्यटकीय स्थल घुम्टे जोडने अमरसिंह पदमार्गमा शालिक निर्माण कार्य सोमबार देखि शुभारम्भ भएको छ । शालिक निर्माण गर्नको निमित्त बगाले थापा समाज बेलायतले नगद रु १ लाख ७० हजार सहयोग उपलब्ध गराएको गलकोट नगरपालिका ७ मल्म निवासी समाजका सदस्य राम बहादुर थापाले जानकारी दिए ।चैत १३ र १४ गते सातसय बगाले थापा समाजको आयोजनामा हुन गईरहेको राष्ट्रिय बगाले थापा सम्मेलनमा देशभरका बगाले थापाहरुको गलकोटमा जमघट हुँदै छ ।
बगाले थापाहरुको ईतिहाँस, राष्ट्रिय विभुतिहरुको योगदान लगायतका विषयवस्तु माथि बहस अन्तरकृया तथा छलफल गरिने बताईएको छ । बडाकाजी अमरसिंह थापा नेपालका एक राष्ट्रिय विभुति हुन । बगाले समाज बेलायतले बगाले थापाहरुको उदगम थलो म्याग्दीको धौलागिरी गाउँपालिका स्थित ताकम धारापानीमा निर्माण भएको निशान कालिका मन्दिरलाई समेत यसं अघि झण्डै ४ लाख सहयो गरेको थियो । अहिले बगाले थापाहरुको राष्ट्रिय सम्मेलन सफल पार्न देशव्यापी भेटघाट अन्तरकृया कार्यक्रम सञ्चालन भईरहेको छ ।