हुमाकान्त पोखरेल, गुल्मी
०६ फागुन -रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीको ३७ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
बार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मेयर भुसालले क्याम्पसलाई राम्रो बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पस प्रमुख हरी बहादुर खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सञ्चालक समिति, विद्यार्थी, समुदाय, प्रशासन तथा प्रध्यापक, कर्मचारी लगायत सबैको सहयोगमा क्याम्पस क्युएए भएको उल्लेख गरिएको छ । त्यस्तै शान्त र मनोरम शैक्षिक वातारण, अधिकार सम्पन्न संगठनात्मक संरचना, आफ्नै जग्गामा सुविधासम्पन्न भवन, व्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याव र विज्ञान प्रयोगशाला, समुदायसँग सुमधुर सम्बन्ध, छात्रछात्रामैत्री सुविधायुक्त शौचालय लगायतका सबल पक्षहरु रहेको उल्लेख गरिएको छ ।
त्यस्तै क्याम्पसको आर्थिक स्रोत विद्यार्थीको शुल्कमा मात्र निर्भर हुनुपर्ने, बार्षिक परिक्षाको नतिजा सुधार्न नसक्नु, आर्थिक सबलताको अभावमा रोजगारमुलक कार्यक्रम संचालक हुन नसक्नु, पठनपाठनलाई पूर्ण नियमित र प्रविधिमैत्री बनाउन नसक्नु लगायतका पक्षहरुलाई चुनौतिको रुपमा देखाइएको छ । बार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसका साथै अनुशासन पुरस्कार, विभिन्न छात्रवृत्ति पुरस्कार, पढाईमा उत्कृष्ठ अकं ल्याउने विद्यार्थी, उत्कृष्ठ कर्मचारी, प्रध्यापक, चन्दादाता लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । भने क्याम्पसलाई क्युएए बनाउन भूमिका खेलेको भन्दै संचालक समिति अध्यक्ष शालिक पन्थीलाई विशेष सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र विद्यार्थी युनियन, विभिन्न विद्यार्थी संगठन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता, मेयर भुसालको प्रमुख आतिथ्यता, संचालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको स्वागत मन्तव्य तथा सहायक क्याम्पस प्रमुख गोविन्द गौतमको संचालनमा सम्पन्न भएको थियो ।