अनिल खत्री
९ फागुन, गुल्मी ।
कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि पानी जम्मा गरिएको ड्याम जलाशय खाली गरिएको छ । गुल्मी स्याङजा क्षेत्रमा पर्ने विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ९ बजेबाट विद्युत उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।
प्राधिकरणले सुचना निकालेर बिहिबार राती ९ बजेदेखि ड्याम खोल्ने जनाएको छ । सुचनामा ४ दिन सम्म ड्याम खुला रहने उल्लेखछ ।
प्राधिकरणले ड्याम देखि पावर हाउस सम्मका क्षेत्रमा बस्ने बासिन्दालाई सचेत रहन बिशेष अनुरोध गरेको छ । प्रभावित क्षेत्रमा पर्ने गुल्मीका कालिण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका, स्याङ्जाको कालिगण्डकी गाउँपालिका, पाल्पाका तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकालाई पत्र लेखेर सुचना गरी सहयोग गरिदिन प्राधिकरणले अनुरोध समेत गरेको छ ।
ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरू जवाफदेही नहुने उल्लेख गरेको छ । विद्युत केन्द्र मर्मतका लागि सोमबार अर्थात फागुन १२ गते साँझ पाँच बजेसम्म बन्द रहने छ ।
बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । कालिगण्डकी ए जलबिद्युत गृहको १४४ मेगावाट क्षमता रहेको छ ।