कमल पौडेल
१० चैत्र÷बागलुङ- कोरोना भाइरस अर्थात कोभिड १९ को नियन्त्रणको लागि बडिगाड गाउँपालिकाले आज देखि गाउँपालिका प्रदेशद्धार बडिगाड २, खर्वाङ हाडिखोलामा हेल्थ डेक्स सुरु गरेको छ।
सो हेल्थ डेक्समा गाउँपालिका बाहिर वाट भित्रने नागरिकहरुको स्वास्थ्य अवस्थाको जाँच गरिने र आवश्यक सल्लाह तथा सुझाव दिइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निरन्जन यादवले जानकारी दिनुभएको छ। सो डेक्स मा ज्वरो, प्रेसर नापिने र उनिहरुको विवरण राखिने काम सुरु गरिएको छ। वाहिर बाट गाउँपालिका भित्रने सवैलाई आफ्नै घरमा अलग्गै बस्न गाउँपालिकाले अनुरोध गरेको छ। यसै विच बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै नागरिकलाई सचेत रहन तर नआत्तिन आग्रह गर्दै, भारत सहित नेपाल वाहिरवाट आएका सवै नेपालीलाई आआफ्नो घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ। यदि कुनै समस्या आए वा कोभिड १९ संग मिल्दो लक्षण देखिए तत्कालै गाउँपालिकाको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ। कुनै विरामी भेटिए आवश्यक उपचारको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष पाइजाले बताउनु भएको छ। आज वाट लामो दुरीका यातायातका साधन नचल्ने भनेपनि काठमाडौं र बुटवलवाट आएका यात्रुवाहक साधनहरुका कारण हेल्थ डेक्समा लाइन लगाएर स्वास्थ्य जाँच गरिएको थियो।
सो स्वास्थ्य जाँचमा कोहि कसैलाई पनि समस्या नदेखिएको र गन्तव्यमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनुभएको छ। यसै विच जिल्ला विपद् व्यवस्थापन समिति बागलुङको बैठकले आजै दिउसो ३ बजे देखि अत्यावश्यक बाहेक सवै यातायात, पसल, व्यवसाय लगाएत बन्द गर्ने भनेपनि खर्वाङ आसपासमा खासै प्रभाव देखिएन, उता गुल्मी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राती १२ बजे पछि गुल्मी जिल्ला लकडाउन गर्ने निर्णय गरेकोले भोली देखि सवै प्रकारका यातायात, बस, जिप, पिकअप, ट्याक्सी, मोटरसाइकल, रिक्सा, पसल, व्यवसाय, उद्योग, कलकारखाना समेत बन्द हुनेछ। भने दैनिक उपभोग्य सामान, खाद्य, दुध, औषधी, पानी, पेट्रोलियम पदार्थ एवं उद्धार राहत तथा स्वास्थ्य उपचार कार्यमा संलग्न यातायातहरु चल्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
यसै विच खर्वाङका विभिन्न स्थानहरुमा सावुनपानीले हातधुने व्यवस्था मिलाइएको छ। वडा कार्यालयमा हात धोएर मात्रै भित्र पस्ने व्यवस्था गरिएको छ भने नवप्रतिभा वचत तथा ऋण सहकारीले पनि सेवा ग्राहिलाई हात धोएर मात्रै सेवा लिने व्यवस्था मिलाएको छ। हेल्थ डेक्स सञ्चालन भएको स्थानमा पनि सावुन पानीले हात धुने व्यवस्था मिलाइएको छ।