अनिल खत्री
११ चैत, गुल्मी – बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार बिहान एक निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्ला भित्रका सञ्चारकर्मीलाई सूचना बिभागले जारी गरेको प्रेस पासको आधारमा आगवगन गर्न दिइने भएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफुल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरि तोकिएको समयमा सञ्चालन गरिने भएको छ । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ । प्रशासनले सोमबार एक सार्बजनिक सूचना मार्फत लक डाउन गर्ने निर्णय गरेको थियो । तर मंगलवार पुनः अर्को सूचना जारी गर्दै निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । यो समयमा बिना चेकजाँच भिडभाड गर्ने गर्नाले जिल्लामा कोरोनाको उच्च जोखिम हुने भएकाले सर्तकता स्वरुप निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ ।
खाद्ययन्न संचित नगर्न व्यवसायीको आग्रह
अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसलबाट तोकिएको समयमा सामाग्री लिन सकिने भएकाले नागरिकलाई अनाबश्यक संचित नगर्न उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ । बजारमा अत्यावश्यक खाद्यान्न, ग्यास, पेट्रोल लगायतका उपभोग्य वस्तु सहज रुपमा नपाए गुल्मी उद्योग वाणिज्य संघलाई खबर गर्न पनि आग्रह गरिएको छ । यो समयमा बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्वंयम उपभोक्ताहरुको पनि महत्वपुर्ण भुमिका रहने अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।
उपभोक्ताहरुलाई डिलरबाट ग्यास साट्दा रु १४ सय २५ रुपैँया मात्र लाग्ने जानकारी दिनुभयो । सदरमुकाम तम्घासमा ग्यासका डिलरहरु ६ वटा रहेका छन् ।