बैशाख २१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् ।
‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने, ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ । वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ ।’
कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । ‘बन्दाबन्दी कायमै रहे पनि केही खुकुलो गरिनेछ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ ।’
मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’
‘सरकारले बन्दाबन्दीको अवस्था केही खुकुलो गरेको खण्डमा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने वातावरण बन्न सक्छ,’ ‘शारीरिक दूरी कायम गरेर पठनपाठन सुरु गर्नुपर्छ । तत्काल नयाँ पाठ्यपुस्तक नभए पनि हुन्छ । केही विषयबाहेक पुरानै पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित पाठ्यसामग्री लिएर शिक्षक र विद्यार्थीबीच संवाद सुरु हुनुपर्छ ।
पाठ्यपुस्तक ढिलो पुग्ने भएकाले मन्त्रालयले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई ‘सफ्ट कपी’उपलब्ध गराउसक्छ ।