फर्किएका युवालाई गाउँमै टिकाउन पाल्पामा यस्ता छन् योजना

बैशाख २३
पाल्पा

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले त्रसित भएर धेरै युवा गाउँघर फर्किएका छन्।

अहिले पनि आउने क्रम चलिरहेको छ। यसरी ठूलो संख्यामा गाउँ फर्किएका युवालाई आगामी दिनमा गाउँमै टिकाइराख्न पाल्पाका स्थानीय तहले विभिन्न जुक्ति खोजिरहेका छन्। युवालाई गाउँमै टिकाइराख्नसके समाजको विकासमा टेवा पुग्ने यहाँका स्थानीय तहको ठम्याइ छ।

पाल्पाका १० वटै स्थानीय तहमा गरी एक हजारभन्दा बढी युवा गाउँ फर्किएका छन्। गएको चैत महिनाको तथ्यांकअनुसार जिल्लाभर ८ सय ३५ जना युवा गाउँ फर्किएर आएका थिए।
पछिल्लो समयमा त्यो संख्या बढेर एक हजार नाघेको छ। अहिले पनि भारतबाट फर्किएका कतिपय युवा क्वारेन्टाइनमा बसिरहेका छन्। यसरी लकडाउनमा गाउँ फर्किएर आएका युवालाई आगामी दिनमा गाउँमै कसरी टिकाइराख्न सकिन्छ? भनेर यहाँका स्थानीय सरकारले विभिन्न योजनाको तयारी गरिरहेका छन्। यतिबेला आफ्नो स्थानीय तहबाट वैदेशिक रोजगारमा रहेका युवाको तथ्यांक लिने कामसमेत गरिरहेका छन्। अब पनि गाउँ फर्कन चाहने युवाको तथ्यांक बटुल्ने काम पनि भइरहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन्। केही स्थानीय तहले गाउँ आइसकेका युवालाई सामान्य अनुदानसहित कार्यक्रम सञ्चालन गरिसकेका छन्। केहीले भने व्यावसायिक योजनाको तयारी गरिहेका छन्। गाउँमा फर्केर आएका युवालाई गाउँमै टिकाइराख्न तानसेन नगरपालिकाले आर्थिक उपार्जनसम्बन्धी प्याकेजमै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।बैंककमार्फत ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएर युवालाई व्यवसायमा जोड्ने योजना रहेको नगरप्रमख अशोककुमार शाहीले बताए। सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने विषयमा तानसेनमा रहेका विभिन्न बैंकसँग सहमति गरिसकेको उनले बताए। ‘पर्यटन, कृषिमा आधारित उद्योगमा यहाँका युवालाई काम गर्ने अवसर मिलाउने छौं’, शाहीले भने, ‘व्यवसाय गर्न चाहने युवालाई व्यवसायको आधारमा अनुदान साथै जमिन भाडामा लिदा तिर्नुपर्ने रकमसमेत नगरपालिकाले तिर्नेछ।’ उनका अनुसार तानसेनमा उन्नत जातका बिउ उत्पादनको पकेट क्षेत्र निर्माण गरेर युवा परिचालन गर्ने, विभिन्न बालीसम्बन्धी प्राविधिक (रिसोर्स पर्सन) लगायत तालिम सञ्चालन गरी युवालाई सीपमा दक्ष बनाउन नगरपालिकाले सहयोग गर्ने छ।

You might also like

Leave A Reply

Your email address will not be published.