गुल्मी
बैशाख २६ – गुल्मीमा भारतबाट आएका ६८ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
दुई हप्तासम्म सीमा नाकामा अलपत्र परि बसेका ६८ जना मध्ये धुर्कोट गाउँपालिकाका ५४ जना, रेसुंगा नगरपालिकाका ७ जना, मुसिकोट नगरपालिकाका ३ जना, चन्द्रकोट गाउँपालिकाका २ जना र मदाने र रुरुक्षेत्र गाउँपालिकाका एक-एक जना गरी ६८ जनाको स्वाब परीक्षण गरिएको थियो । गुल्मीको धुर्कोट गाउँपालिका वडा १ नयाँगाउँको खाल प्रावि क्वारेन्टाइनका १० जना, कालिका प्राविमा रहेका ३४ जना र वडा नं २ पिपलधाराको गणेश माविमा रहेका नौ जनाको स्वाब संकलन गरिएको थियो । धुर्कोट गाउँपालिकाका ५३ जना पनि सुनौली नाकामा अलपत्र परेपछि २८ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण नेगेटिभ आएपछि गाउँ आएका थिए । आरडिटी रिर्पोट पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर जाँच गर्ने गरिन्छ । तर उनीहरु लामो समय नाकामा बसेको र धेरै संक्रमित देशबाट आएकाले पुन पिसिआर जाँचको लागि नुमना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिनुभयो ।
भारतबाट आएका व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका कतिपय व्यक्तिहरु बिहीबार नै घर फर्किसकेका छन् भने अन्य व्यक्तिहरुलाई शुक्रबार आ आफ्नो घर पठाउने तयारी गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनु भएको छ । प्रदेश प्रयोगशाला ल्याब रुपन्देहीमा किटको अभाव भएपछि पीसीआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका ६८ जना व्यक्तिहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिनुभएको छ ।भारतबाट आएकाहरुमा कोरोनाको सङ्क्रमण हुन सक्ने आशंकfमा त्रसित बनेका स्थानीयहरु उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि खुशि बनेका छन ।