जेठ १,
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाल महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारमा सँधैका लागि रहिरहन सक्ने उल्लेख गरेको छ। संगठनका आपत्तकालिन मामिला निर्देशक माइकल रयानले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, कोरोना भाइरस कहिल्यै अन्त्य नहुने सम्भावना छ। एचआइभी भाइरस यस्तै अर्को उदाहरण हो। संक्रमित बिरामीले खोप नलगाइकन प्रतिरोधात्मक क्षमताबाटै यो भाइरसलाई जित्न वर्षौं लाग्न सक्ने रयानले बताएका छन्। हामीले वास्तविक धरातलमा उभिएर सोच्नुपर्छ, मलाई लाग्छ कि कोरोना विरुद्धको भ्याक्सिन अहिले नै कसैले तयार पार्न सक्दैन, रयान भन्छन्, यो भाइरस कहिलेसम्म संसारमा रहन्छ भन्नेबारे पनि निश्चित छैन। यतिखेर कोरोनाविरुद्धको भ्याक्सिन बनाउन कैयौं मुलुक र अनुसन्धाताहरुले कोशिस गरिरहेका छन्। तर कोरोनालाई पूर्ण निरोध गर्नसक्ने भ्याक्सिन कहिल्यै तयार हुन नसक्ने विज्ञहरुले आशंका जनाइरहेका छन्। अर्थतन्त्र र जनजीवन अस्तव्यस्त भएपछि अहिले विश्वका अधिकांश देशले कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पारिरहेका छन्। यसो गर्दा महामारी झनै तीव्र रुपमा बढ्नसक्ने डब्ल्यूएचओका प्रमुख टेड्रोस गिब्रियसिसले चेतावनी दिएका छन्। उनले भनेका छन्, जारी लकडाउनबाट बाहिर निस्कनका लागि केही देशहरुले फरक–फरक विधि अपनाइरहेका छन्, तर संगठनले सबै देशलाई उच्च सतर्कता अपनाउन सल्लाह दिइरहेको छ, अहिले पनि हरेक देशले सबैभन्दा उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ।