सलहको संकट आउन सक्ने संकेत

जेठ १४

भारतको उत्तर प्रदेशसम्म सलह आइसकेको छ, अनुसन्धान गर्न नसकिएको भए पनि पश्चिम नेपालमा प्रवेश गरिसकेको हुन सक्ने अनुमान छ,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्राज्ञ प्रमोद झाले भने, ‘फौजी किराबाट मुक्ति अझै भइसकेको छैन, त्यसमाथि सलहले दुस्ख दिने प्रष्ट संकेत देखेका छौं ।’

बीबीसीको रिपोर्ट अनुसार राजस्थान, मध्यप्रदेश गुजराततिर ५० हजार हेक्टरभन्दा बढी जमिनमा लगाइएको बालीनाली सलहले सोत्तर पारेको छ । जीववैज्ञानिकहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखे अनुसार, सलहका कारण यो क्षेत्रभरि खाद्यसंकट उत्पन्न हुन सक्छ ।

फट्यांग्रो प्रजातिको मानिने सलहको रंग टाटेपांग्रे छिर्केमिर्के किसिमको हुन्छ । यो एक्लै नभई ठूलो बथानमा आउने, अन्नबाली जे भेटे पनि एकैछिनमा सखाप पार्न सक्ने सामर्थ्य भएको किरो हो । नेपालमा देखिने अधिकांश सलह र फट्यांग्रा दुवै सिस्टोसेरा ग्रेगारिया नामक प्रजातिभित्रका अनेक हाँगाहरू हुन् ।

जीव वैज्ञानिकहरूका अनुसार सलहले प्रतिदिन १५० किमि दूरीसम्म यात्रा गर्न सक्छ । उत्तर प्रदेश र बिहारबाट नेपाल प्रवेश गर्न यसलाई क्षणभर काफी छ । रोचक के छ भने यो रातमा भने थकाई मार्ने, दिनमा सक्रिय हुने किरो हो । जीववैज्ञानिक झाका अनुसार नेपालको तराई क्षेत्र सबैभन्दा बढी प्रभावित हुन सक्ने छ । ‘भारतले सजगता अपनाउन थालिसकेको छ, यहाँ ढिलो गरियो भने अपुरणीय क्षति हुन जानेछ,’ उनले भने ।

दुई महिनाजति मात्रै ठानिएको एउटा सलहको खाना भने आफ्नो कुल वजनभन्दा पनि बढी हुने गर्छ । एकैपल्ट हजारौँ सलह पसेर बालीनाली नोक्सान गरिदिने हो भने हाम्रो खेतबारी सोत्तर बन्छ । यसै त, यो कृषिप्रधान देशमा हाम्रो खाद्य पदार्थ आयात अनुपात यो कोरोना संकटका बेला थप बढ्न सक्ने चेतावनी कृषि मन्त्रालयले दिइसकेको छ ।

भारतभन्दा बढ्ता असर भोग्नेमा अर्को छिमेकी पाकिस्तान छ । यो वर्षको सुरुवातमा पाकिस्तानले सलह रोक्न नसकेपछि छिमेकी चीनबाट एक लाख हाँस मगाएको थियो । कृषि विज्ञहरूका अनुसार एउटा हाँसले प्रत्येक दिन २ सय भन्दा बढी सलह खान सक्छ ।

यसको प्रामाणिकताबारे प्रश्नहरू नउठाइएको होइन, तर पूर्वी अफ्रिकामा सलहको बिगबिगी भएपछि तिनै सलह निल्न हाँस जाइलागेको देखेका स्थानीयले सोही उपायको सहायताले क्षति घटाएको समाचारहरू त्यस बेला प्रकाशित भएका थिए । पाकिस्तानले त्यसैको सिको गरेको हो । चीनमा सलहको बिगबिगी भएपछि सन् २००० मा सिन्जियाङ क्षेत्रमा ३० हजारभन्दा बढी हाँस पठाएको थियो ।

किरो भनेर के गर्ने अस्थिरताले ग्रस्त भइरहने बोलिभियामा चार वर्षअघि संकटकाल लाग्दा राजनीति जिम्मेवार थिएन, बरु यो छिर्केमिर्के किरो । सान्ता क्रुज क्षेत्रका खेतमा सलहले जौ र मकै खेतीमा क्षति पुर्‍याएको थियो । सलह रोक्न ७ लाख अमेरिकी डलर छुट्याएर आपतकालीन सहायता योजना सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको थियो ।

सलहको मुख्य निशानामा मकै र गहुँ हुने भनिए पनि यसले जे भेट्यो त्यही खाने जीववैज्ञानिकहरूको भनाई छ । हिकास्टसँग सम्बद्ध जीववैज्ञानिक विदूरप्रसाद चौलागाईंका अनुसार स्थानीय जातका किराहरूले सलहसँग लड्न हत्तपत्त सक्दैनन्, किनकि सलहको खाने क्षमता नै यति बढी हुन्छ, उसको लड्ने क्षमता स्वतस् बढी हुन्छ । ‘कहिले फौजी किरा, कहिले सलह, यस्ता समस्या आगामी दिनमा अझै देखिनेछन्, ‘खेती प्रणालीमा बिग्रेको बानी नसुधारेसम्म यस्ता संकटबाट हामी मुक्त हुन सक्दैनौं ।’

सलहले खेती भस्म पार्न थाल्यो भने बचाउने कसरी रु चौलागाईंका अनुसार व्यावसायिक खेतीका नाममा एउटै बाली धेरै हेक्टरसम्म लगाएमा सलहजस्ता किराका लागि त्यसले वातावरण अझ सहज पार्ने छ । ‘व्यावसायिक खेतीका नाममा यहाँ अर्गानिक र कमर्सियल उत्पादन एकै ठाउँ मिसाउने गल्ती भइरहेको छ,’ उनी थप्छन्, ‘यहाँको माटोको प्रकृतिसँग नमिल्ने विदेशी जातका बिउ–बिरुवा लगाउन बन्द नगरी हामी यस्ता समस्याबाट मुक्त हुन सक्दैनौं ।’

जीववैज्ञानिक झा भन्छन्, ‘तुरुन्तै अध्ययन गरेर सलह रोक्ने योजना अघि सार्नुपर्छ । नत्र यसको क्षति फौजी कीराको भन्दा ठूलो मात्रामा हुन सक्छ । त्यसले हामीलाई खाद्य संकटतर्फ धकेल्ने छ ।’

You might also like

Leave A Reply

Your email address will not be published.