गुल्मी ,
जेठ २२ – गुल्मीको मालिका गाउँपालिकाले नीति तथा कार्यक्रमको लागि सुझाव पेस गर्न सबैलाई अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०७७ ७८ को लागि नीति तथा कार्यक्रमको मस्यौदा तयारको कार्य तिव्र गतिमा अघि बढाईएको र नीति तथा कार्यक्रम प्रभावकारी बनाउन सबै सरोकारवालाबाट सुझाब लिन थालिएको मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको समृद्धि र विकासका लागि वस्तुगत रुपमा समेट्नु पर्ने क्षेत्रसहित सुझाव प्रदान गर्ने गाउँपालिकाले अनुरोध गरेको छ । नीति तथा कार्यक्रमको निम्ति सामूहिक छलफलको लागि प्रतिकूल समय रहेका कारण सामाजिक संजाल तथा प्रबिधिको माध्यमबाट सुझाव दिन गाउँपालिकाले अपिल समेत गरेको छ । सुझावको लागि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रतिनिधि सभाका सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका संसद गोकर्ण राज विष्ट, प्रदेश संसद, जिल्ला समन्वय समिति गुल्मी, जिल्ला बाहिर तथा जिल्ला भित्र रहेका विभिन्न क्षेत्रका विज्ञ, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, संचारकर्मीहरुलाई पत्राचार गरिएको सुचना अधिकृत जगत पौडेलले जानकारी दिए । हरेक क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालाहरुलाई आवश्यक सुझावको लागि अनुरोध गरिएको र प्राप्त सुझावले गाउँपालिकाको दिगो विकासमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । साथै प्राप्त सुझावले भावी कार्य योजना निर्माण गर्न तथा बजेट उचित ठाउँमा कार्यान्वयन गर्नको लागि मद्धत पुग्ने गाउँपालिकाले अपेक्षा राखेको सूचना अधिकृत जगत पौडेलले उल्लेख गर्नुभएको छ ।