जेठ २४
चिन्तक एवम् नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले मार्क्सवादी चिन्तक एवम् कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल चक्रब्यूहमा फसेको टिप्पणी गरेका छन्। बजेटको मन्त्रालयगत छलफलमा भाग लिंदै सांसद गिरिले मन्त्री भुसाललाई अभिमन्युसँग तुलना गरे।
सांसद गिरिले भने, “कमरेड, तपाईं अभिमन्यु चक्रब्यूहमा प्रवेश गरेझैं, एउटा तन्त्रमा प्रवेश गर्नुभएको छ। ”बजेटमा कृषि क्षेत्रले यथोचित स्थान नपाएको र मन्त्री भएर काम गर्न कठिन भएको भुसालको अभिव्यक्ति प्रति सांसद गिरिले यस्तो टिप्पणी गरेका हुन्।
“तपाईं अप्ठ्यारोमा पर्नुभएको छ। त्यो अप्ठ्यारोका लागि तपाईंका प्रधानमन्त्री र अध्यक्ष मात्रै जिम्मेवार छैनन्। यो व्यवस्था र हाम्रा बीचका वैमनस्यताले समेत काम गरेको छ”, उनले भने। कृषिबारे बजेटमा भूमिका समेत उल्लेख नभएकाले बजेटबाट धेरै आशा नभएको सांसद गिरिले टिप्पणी गरे।
भुसालको प्रशंसा गर्दै सांसद गिरिले भने, “अभिमन्युसँग तुलना गरेपछि यहाँ भन्दा बढी भन्नु परेन। तर, अभिमन्यु बडो गौरवशाली पात्र थिए। यशस्वी थिए। अहिलेसम्म यशस्वी छन्।”
गिरिले मन्त्री भुसाललाई पूर्व मन्त्री शैलेजा आचार्यको प्रसंग सम्झाए, “तपाईंजस्तै पूर्व मन्त्री शैलेजा आचार्यले यस्तै दुस्साहस संसदको फोरमबाट गर्नुभएको थियो। र त्यसको कडा मूल्य तिर्नुभएको थियो।”
संसदीय राजनीति र गणतन्त्रले कृषि क्षेत्रमा ल्याउन नसकेको परिवर्तन कोरोना संकट पछि ल्याउने अवसर सरकारले गुमाएको सांसद गिरिले बताए।
उनले भने, “सबलाई थाहा छ, कोरोनापछिको अवस्थामा कृषिलाई अत्यन्तै धेरै महत्व दिनुपर्थ्यो। तर, कनिका छरेजस्तो अनेकन शीर्षकमा पैसा छरियो। खतरनाक किसिमले पैसा छरिएको छ।” उनले अहिले किसानलाई अत्यन्तै धेरै सहानुभूतिको खाँचो रहेको बताए।
“किसान उखु बेच्दा पनि ठगिन्छ र चिनी किन्दा पनि ठगिन्छ”, सांसद गिरिको भनाइ थियो। उनले भुसाललाई चक्रब्यूहबाट सुरक्षित फर्कन समेत आग्रह गरे।