जेष्ठ २८
को हत्याआमनागरिक घरभित्रै सीमित भए पनि अपराधजन्य गतिविधि रोकिएका छैनन् । प्रतिशोध र रिसइबीका कारण हत्याका घटना बढिरहेका छन् भने अढाई महिनाभित्रै १२२८ जनाले आत्महत्या गरिसकेका छन् ।
जेठ १५ गते मोरङको बेलबारी नगरपालिका–४, बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले ५५ वर्षीया आमा देवकुमारी लिम्बूको हत्यापछि आत्महत्या गरे ।
जेठ १० गते साँझ चौरजहारी नगरपालिका–८ सोती रुकुम पश्चिम मा स्थानीयको कुटाइबाट जाजरकोटका नवराज विकसहित ६ जनाको ‘हत्या भयो । यद्यपि घटनाको अनुसन्धान भइरहेको भन्दै सरकारले हत्याको कारण खुलाइसकेको छैन।
अछामको बयलपाटा अस्पतालले लकडाउनकै बेला जागिरबाट निकालेपछि साँफेबगर नगरपालिका ६, भागेश्वरका सिद्धार्थ आउजीले सोमबार शरीरमा पेट्रोल छर्केर आत्मदाह गरे ।
सोमबार राति नै रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवास्थित गंगादेवी पशुपन्छी फार्ममा कार्यरत एक मजदुरले कोदालो प्रहार गरी सोही फार्ममा कार्यरत ५ जनाको हत्या गरे । हत्याको आशंकामा सुर्खेतका ३२ वर्षीय युवक झसेन्द्र सिँजालीलाई नियन्त्रणमा लिइए पनि कारण खुलिसकेको छैन ।
शरीर नै सिरिङ्ग हुने खालका हत्या र आत्महत्यासम्बन्धी यी चार घटना पछिल्लो एक महिनाभित्र घटेका हुन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चारवटै घटनाको मुख्य कारण ‘तथाकथित छुवाछूत प्रतिशोध, आवेग, उत्तेजना र गरिबीसँग जोडिएका छन् । यद्यपि दलित युवाले तथाकथित उपल्लो जातकी युवतीसँग प्रेमसम्बन्ध राखेको भन्दै गाउँलेकै योजनामा भएको रुकुम घटनामा जिल्ला, प्रदेश र गृह मन्त्रालयले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।
रूपन्देहीको तिलोत्तमामा भएको हत्याबारे पनि जिल्ला र प्रदेश प्रहरीले अनुसन्धान सुरु गरेका छन् । नेपाल प्रहरीका अनुसार २०७६ चैत ११ गते लकडाउन घोषणापछि मात्रै देशभर ९५ जनाको हत्या भएको छ । यो अवधिमा १२ सय २८ जनाले आत्महत्या गरेका छन् । यो अनुपातअनुसार दैनिक १५ देखि २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । कुल अपराधमा आत्महत्याको हिस्सा मात्रै २८ प्रतिशतभन्दा बढी छ । लकडाउनपछि ४ हजार ३ सयभन्दा बढी अपराधका मुद्दा दर्ता भएकामा आत्महत्याको हिस्सा निकै विकराल छ । त्यस्तै दैनिक १ देखि २ जनाको सरदर हत्या हुने गरेको प्रहरी तथ्यांकबाट देखिन्छ । आत्महत्याको ग्राफ दैनिक रूपमा चुलिँदो छ । हत्याका अधिकांश घटनामा प्रतिशोध र रिीसबी मुख्य कारण बनेको देखिएको छ ।