सामाजिक सञ्जाल समाजलाई जोड्दै कि तोड्दै

सूचना आदान प्रदान गर्न, आफ्ना विचार र भावना व्यक्त गर्न
सामाजिक गतिविधिबारे जानकारी लिन दिन, समूहभित्र अन्तर्क्रिया गर्न तथा ज्ञान बाँड्न सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, हृवाट्सएप, युट्युब आदि मानिसका लागि वरदान बनेर आयो । सञ्चारले पूर्णता पाउन दुईतर्फी सञ्चार आवश्यक पर्दछ अथवा प्रापकको प्रतिक्रिया पनि जरुरी हुन्छ भन्ने मान्यतालाई यसले तुरुन्तै जोडिन सकिने गरी सहज बनाइदियो ।

परम्परागत सञ्चार माध्यमले आआफ्नै विशेषता बोकेका छन् । न्यू मिडिया र सामाजिक सञ्जालको आगमनले तुरुन्तै दुईतर्फी सञ्चारको अवधारणालाई व्यावहारिक कार्यान्वयनमा सहज बनाइदियो । सामाजिक सञ्जाल अहिले सार्वजनिक रुपमै बहस गर्ने सशक्त माध्यम बनेको छ ।

सामाजिक सञ्जालमा फेसबुक हामीकहाँ बढी चल्तीको माध्यम हो । तर अन्यत्रजस्तै हामीकहाँ पनि लोकप्रिय बनेका सामाजिक सञ्जालहरु धेरैजसो अरुलाई सीधा या अप्रत्यक्ष रुपमा गाली गर्ने माध्यम बन्न थालेका छन् ।

हालै देशका एकजना ‘अति विशिष्ट’ व्यक्तिले अर्का ‘अति विशिष्ट’ व्यक्तिप्रति आगो ओकल्दै ‘भस्मासुर’ शब्द प्रयोग गरेर गाली गरे । सामाजिक सञ्जालमा एकरदुई दिन खुब ‘भाइरल’ पनि बन्यो । अनि ‘बजार’ लिन सकेन । एक दुई दिन कतिले यसमै मुख मिठ्याए । कतिले उनलाई उसैगरी जवाफ फर्काए । बौद्धिक स्तरको सुझाव कतै देखिएन । किनकि पक्ष विपक्षमा बाँडिएका ‘उग्र’ समर्थन र विरोधले अहिले सामाजिक सञ्जालमा बौद्धिक बहस र सुझाबलाई ओझेल पारिदिएको आभाष हुन थालेको छ ।

यतिवेला सामाजिक सञ्जाल एउटा यस्तो वर्गको कब्जामा गइरहेको छ, जो बिहान बेलुका देशको राजनीतिक, सामाजिक, अर्थ र सुरक्षालगायतका विषयमा भेटेजति कुरुप शब्द खोजेर गालीको बर्षा गर्छन् । उस्तै परे रेकर्ड गरेर हाल्छन् र सामाजिक सञ्जालमा फ्याँकेर आफ्नो धन्दातिर लाग्छन् । त्यस्तै विषयमा हजारौँ लाइक, कमेन्ट र शेयर हुन्छन् । पक्ष विपक्षमा उस्तै शब्दवाण प्रहार गरी बहस हुन्छ । कतिपय शब्द, वाक्य त पढीसाध्य हुँदैनन् । त्यसकै आधारमा जो कसैलाई जो कसैले सकेजति गाली गर्छ । पोष्ट गर्नेले कुनै कुनामा बसेर वेला वेला चिहाउँछ र मेरो यति शेयर भएछ, यति लाइक र कमेन्ट आएछ भनेर चिया सुर्काउँदै जुँगामा ताउ लगाउँछ । समाज तिनैका पछिपछि कुदिरहेको हुन्छ ।

हामीलाई थाहा हुँदैन, तिनले हामीलाई कसरी ‘उल्लु’ बनाएर दङ्ग परिरहेका छन् अरुलाई उल्लु बनाएर आफूलाई महान सम्झनेहरु ‘लाइन’ ‘लाइन’का छन् । अहिले राम्रा विचार र असल संस्कारका विषय तथा सही सल्लाह सुझाबलाई तिनले छायाँमा पार्ने कोसिस गरिरहेका छन् ।

कुनै विषयमा आफ्ना धारणा राख्नु अत्यन्तै राम्रो हो र सचेत नागरिकको दायित्व पनि । लोकतन्त्रमा त झन् अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व छ । तर सामाजिक सञ्जालमा जुन ढङ्गले बहस र छलफल हुनुपर्थ्यो त्यसो हुन सकिरहेको छैन । यो एकले अर्कालाई बेलगाम गाली गर्ने, फेक आइडी बनाएर कसैलाई तल्लो स्तरका गाली र बदख्वाइँ गर्ने, चरित्र हत्या गर्ने दिशामा जानु सभ्य समाजका लागि सुहाउने र पाच्य विषय हुँदै होइन । कानुनतः यस्तो गर्नु अपराध हो । यस्तो गर्दा धेरैले कानुनी कारवाही पनि भोगेको छन् । तर पनि यस्तो प्रवृत्ति घट्नुको सट्टा बढिरहनु थप चिन्ताको विषय हो । कानुनी कारबाहीको पाटो एकातर्फ छ, महत्त्वपूर्ण विषय यो हाम्रो सभ्यता निर्माणमा बाधक हो ।

हाम्रो नयाँ पुस्ताले सामाजिक सञ्जाललाई पछ्याइरहेको छ । ती हाम्रै छोराछोरी, भाइबैनी हुन् । यसबाट उनीहरुले के सिक्ने अनि भोलिको समाज कता जाने
विश्वमै सामाजिक सञ्जाल अहिले यति सशक्त माध्यम बनेको छ कि सरकारले कुनै कमजोर निर्णय गर्दा नागरिकको विरोध सामना गर्नै सक्दैन र त्यसलाई सच्याउन या फिर्ता लिन त्यो देशको सरकार बाध्य हुनुपर्छ । हामी यति शक्तिशाली सामाजिक सञ्जाललाई ठिक ढङ्गले सदुपयोग गर्नेतर्फ जानुपर्छ । तथ्यमा टेकेर तर्क सङ्गत र सभ्य रुपमा आफ्ना विचार, प्रतिक्रिया व्यक्त गर्ने परिपाटीको विकास गर्नुपर्छ । अनिमात्र त्यसको सुनुवाइ हुन्छ ।

यो सभ्य समाज निर्माणको चरण पनि हो । सूचना आफैँमा शक्ति हो । त्यसैले सूचनाको सम्वाहक सामाजिक सञ्जाल पनि एउटा शक्ति हो । हामीलाई यसले बलशाली बनाएको छ । तसर्थ, हामीले शक्तिको दुरुपयोग गर्ने होइन, सदुपयोग गर्नुपर्छ । यसमा ‘मल्टिमिडिया’को अभ्यास गरिने भएकोले यो बौद्धिक शक्ति हो । बौद्धिक शक्तिको दुरुपयोगले समाजलाई दीर्घकालसम्म राम्रो परिणाम दिँदैन ।

अहिले जसले स्मार्ट फोन, ल्यापटप या कम्प्युटर चलाएर सामाजिक सञ्जालमार्फत एकअर्कामा झटारो हान्न मस्त हुन्छन् ती अधिकांश पढेलेखेकामा गनिने, समाजका बुद्धिजीवि वर्ग, राजनीतिमा सक्रिय, पेसाकर्मी या त भोलिका देशका कर्णधार भनिने विद्यार्थी वर्ग नै छन् । गाउँमा बसेर आफ्नो व्यक्तिगत या पारिवारिक सूचना आदानप्रदान गर्नका लागि इन्टरनेट चलाउनेहरु सामाजिक सञ्जालमा यस्ता खेतीमा लाग्दैनन् । उनीहरु त्यस्ता शाब्दिक मारमुङ्ग्रीका रमाइला दर्शक मात्र हुन्

यसरी हेर्दा सामाजिक सञ्जालमा पक्ष, विपक्ष, समर्थन, विरोध वा कसैलाई प्रहार गर्ने नाममा जे जस्ता क्रियाकलाप भइरहेका छन् त्यसले मानिसका व्यक्तिगत र सामाजिक सम्बन्धमा पनि दरार उत्पन्न गरिरहेको बुझ्न सकिन्छ । यसले सामाजिक सञ्जालको हाम्रो प्रयोगले समाजलाई जोड्दै छ कि तोड्दै छ भन्ने गहिरो प्रश्न पैदा गरेको छ ।

हामीले प्रयोग गर्ने वचन पनि त्यस्तै हो । राम्रा शब्दको प्रयोग गरेर जुनसुकै कुरा व्यक्त गर्न सकिन्छ । राजनीति र कुटनीतिमा त झन् यसको अत्यन्तै महत्त्व रहन्छ । यो सभ्य र विकसित समाजको प्रतीक पनि हो । हामीसँग राम्रा राम्रा शब्दका भण्डार छन् भने विमतिका बीच कसैलाई तल्लो स्तरमा ओर्लिएर गालीगलौजमा उत्रिनु उचित होला र यसबाट सामाजिक सञ्जालमा केही समर्थक वा रमितेबाट प्राप्त हुने वाहवाहीको के अर्थ हुन्छ र

इन्टरनेटले विश्वलाई सानो गाउँमा रुपान्तरण गरिदिएको छ । यो २१औँ शताब्दीको लागि अभूतपूर्व अवसर हो । तसर्थ, यसलाई उपयोग गरेर हामीले सामाजिक सम्बन्धलाई अझै कसिलो बनाउनेतर्फ लाग्नुपर्छ । सामाजिक सम्बन्धमा नै तनाब र दरार उत्पन्न गराउने अभ्यासतर्फ गयौँ भने घाटा हामीलाई नै हुन्छ ।
हामीकहाँ केहीले सामाजिक सञ्जालको सदुपयोग गरेर दर्जनौँ राम्रा काम पनि गरेका छन् । यसबाट बिरामीले उपचार पाएका छन् । भोका पेटले अन्नपानी पाएका छन् । असहाय तथा अप्ठ्यारोमा परेका मानिसको उद्दार भएको छ । तर यसको दुरुपयोगले सदुपयोगका केही राम्रा उदाहरणलाई छायाँमा पार्नु दुःखद् हो ।
सामाजिक सञ्जालमा राजनीतिक नेताका पोस्ट र उनीहरुका समाचारमा हेरिनसक्नुका फोहरी कमेन्ट हुन्छन् ।

यसो भनिरहँदा म उनीहरुका ‘ब्ल्याक एण्ड ह्वाइट पाटोलाई सभ्य भाषामा र सामाजिक, कानुनी रुपमा मज्जाले केलाउनुपर्छ भन्ने मान्यता राख्छु । कमेन्ट गर्ने धेरैजसो राजनीतिक दलका कार्यकर्तालगायत आफूलाई बौद्धिक भन्न रुचाउने वर्ग नै हुन्छ । त्यसमा कोही किसान या दिनभरि शारीरिक श्रम गरेर लखतरान परेको श्रमिक हुँदैन । यसले समाजलाई दिशानिर्देश गर्नुपर्ने वर्ग आफैँ दिग्भ्रमित भइरहेको प्रतीत हुन्छ । कमेन्ट गर्नुपर्छ, तर स्वस्थ, रचनात्मक र सभ्य भाषामा । अनि त्यसको उपलब्धि पनि हुन्छ । त्यसै विषयमा अर्का समानान्तर साथीभाइसँग जुहारी खेलेर त्यसको के अर्थ हुन्छ रु

त्यस्तै, सामाजिक सञ्जालमा प्रयोगमा ल्याइएका केही साझा थेगोहरु छन् हैन्त, रेन्त, हैट, टुच्च देको आदि । बौद्धिक वर्गले आफ्ना विचार प्रस्तुत गर्दा यस किसिमका हलुका भइने खालका शब्दको प्रयोग नगर्दा नै कल्याण हुन्छ । एकछिनको रमाइलो या आत्मसन्तुष्टि त होला । तर यसले हाम्रो मूल्याङ्कनको आधार छोडिरहेको हुन्छ । अर्कोतर्फ समाजलाई केही सिकाउने वर्गमा यस्तो हल्का छेडछाड सिकाउने कर्तव्य पर्दैन ।

सामाजिक सञ्जालमा कसैप्रति तल्लो स्तरका शब्द प्रयोग गरेर गाली गर्दै बार्ह हात उफ्रिएर केही हुँदैन भन्ने हामीले बुझ्नुपर्छ । किनकि हामीले यसको प्रयोग गरेर यस्ता खेती गर्न थालेको पनि धेरै वर्ष बितिसकेको छ । खोइ त त्यसको सकारात्मक परिणाम रु हामी रेष्टुराँमा गयौँ भने मेनु हेर्छौं, राम्रा राम्रा परिकार छान्छौँ । त्यस्तै, शब्द कोशका राम्रा राम्रा शब्दको छनौट किन नगर्ने रु जसले असहमतिलाई पनि सभ्य रुपमा व्यक्त गर्ने र ग्रहण गर्ने परिपाटीको विकास होस् ।

You might also like

Leave A Reply

Your email address will not be published.