हुमाकान्त पोखरेल
गुल्मी, ३० जेठ- गुल्मीमा मानसिक रोगीको लागि युटुबबाटै आर्थिक संकलन गरिएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर टुनिखोलाकी कमला सुनारको लागि युटुबबाटै आर्थिक संकलन गरिएको हो । ३८ बर्षिय सुनार विगत दुई बर्षदेखि मानसिक रोगी छिन् । रोग लागेपछि उनले दुई बर्षअघि देखि नै औषधी सेवन गर्न थालेपनि रकम अभावले औषधी समेत ल्याउन सकेकी थिइनन् । पछिल्लो समय नौ महिनायता उनीसँग औषधी छैन । जसको कारण उनलाई दाम्लोमा बाँधेर राखिएको छ । त्यहि अवस्थामा एक युटुब संचालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युटुबमा राखे र आर्थिक संकलनको लागि अनुरोध गरे । भिडियो राखेको छ दिनमै उनलाई ५० हजार सहयोग जुटेको पन्थीले बताए । जसमध्ये मालिका गाउँपालिकाले २० हजार प्रदान गरेको छ । भने पन्थी लगायत केहि युवा गाउँमा चन्दा उठाए भने देश तथा विदेशबाट समेत फोन गरेर आर्थिक सहयोग गरेका छन् । कतिपयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । रकमले युटुब संचालक पन्थी र उनका श्रीमानले बिहिबार नै उनलाई थप उपचारको लागि भैरहवा लगेका छन् । कमलाको उपचारको लागि एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिवद्धता आएको रकमबाट थप औषधी किन्ने परिवारको योजना छ । कमला बिरामी भएदेखि उनका श्रीमान कतै पनि काममा जान पाएका छैनन् । घरमा भाडाँकुडा यत्रतत्र छर्ने, जथाभावि गाइबाख्रा फुकाउने, छिमेकीको घरमा झै–झगडाको वातावरण बनाउने जस्ता कारणले उनलाई साङ्ग्लोले बाधँेर राख्नुपरेको छोरा कमल सुनारले बताए । ‘अवस्था नि धेरै नाजुक छ, काममा जान पाएका छैनौ ।’ उनले भने, ‘आमाको उपचारमा सबै सम्पत्ति सकियो तर निको गराउन सकेका छैनौ ।’ उनको आफ्नो लालपुर्जा समेत छैन । विगतदेखि नै सुकुम्बासि जग्गामा गुजारा गर्दै आएका छन् । छोरा कमलले सबैले सक्दो आर्थिक सहयोग गरि उपचारमा थप सहयोग गरिदिन आग्रह गरे । यदि उनलाई कसैले सहयोग गर्न चाहेमा ९८६७३९३८७३ अथवा ९८५७०४९३३३ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।