असार ९
पाल्पा
बन्दीपोखराको सम्मोबारीमा हिजो गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको परिचय खुलेको छ ।
पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको बताईएको छ ।
तानसेन–गुल्मी सडकखण्डको तानसेनदेखि ६ किलोमिटर पश्चिम सम्मोबारीमा खसेको पहिरोमा पुरिएर पानी बोक्ने ट्याङ्करमा रहेकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएका थिए । लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो । सामानले भरिएको ट्रक भीरमै अड्किएको छ । एउटा ठूलो पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको छ । एउटा जीप भने सडक छेउमा अड्किएको छ ।
कार भने सडकमै पुरिएको अवस्था छ । लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसैबीच हिजो बिहानदेखि अवरुद्ध बनेको पाल्पा–गुल्मी सडकखण्ड एकतर्फि सुचारु गरिएको छ । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड पनि एकतर्फी खुलेको छ ।