गएको जेठ १ गते राती गुल्मीमा क्वरेण्टीनमा बसेका चन्द्रबहादुर परियारले आत्महत्या गरेको खबर सार्वजनिक भयो । गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका परियारलाई त्यही दिन दिउँसो स्थानीय आदर्श माध्यामिक विद्यालयको क्वरेण्टीनमा राखिएको थियो ।
राति शौचालय जान क्वरेण्टीनबाट बाहिर निस्किएका परियारलाई ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वरेण्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।बझाङको छबिसपाथिभेरा गाउँपालिका ७ का ३२ वर्षीय रमेश धामीलाई पनि क्वरेण्टीनमै आत्महत्या गरेको अवस्थामा भेटियो । क्वरेण्टीनको सुरक्षाघेराका लागि राखिएको डोरीमा झुण्डिएर धामीले आत्महत्या गरेको वडाध्यक्ष पदम बहादुर मण्डेलले जानकारी दिनुभयो ।
अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गर्नुभयो । लकडाउनका बेला जागिर गुमाएका आउजी पुनर्वहालीको माग पूरा नभएपछि तनावमा हुनुहुन्थ्यो । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गर्नुभएको थियो ।
यी त केही उदाहरण मात्र हुन् । लकडाउन सुरु भएपछिको दुई महिनाको अवधिमा मात्रै देशभर १३ सय ७१ जनाले आत्महत्या गरेका प्रहरी प्रधान कार्यालय नक्सालका डीआइजी निरजबहादुर शाहीले जानकारी दिनुभयो ।
११ सय ४४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १ सय ९७ जनाले विष खाएर र १ जनाले आगो लगाएर आफ्नै ज्यान लिएका छन् । त्यस्तै ७ जनाले औजार तथा हातहतियारको प्रयोग गरेर, १२ जनाले हामफालेर, १ जनाले करेन्ट लगाएर र ९ जनाले डुबेर आत्महत्या गरेका शाहीले जानकारी दिनुभयो ।
आत्महत्या गर्नेमा बालबालिका पनि परेका छन्
यस अवधिमा बालबालिकालेसमेत आत्महत्या गरेको तथ्याँक छ । लकडाउनको अवधिमा ९८ जना बालक र ५९ जना बालिकाले आत्महत्या गरेका छन् । यस्तै ५ सय ४ जना महिला र ७ सय १० जना पुरुषले आत्महत्या गरेका छन्।
सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा २ सय ८६ जनाले लकडाउनको अवधिमा आत्महत्या गरेका छन् । काठमाण्डौमा उपत्यकामा ८९ जना, सुदूरपश्चिममा १ सय ३९ जना, कर्णाली प्रदेशमा ७९ जना गण्डकी प्रदेशमा १ सय ५१ जना, वाग्मती प्रदेशमा १ सय २० र प्रदेश नम्बर १ मा २ सय २६ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको यो आँकडा हेर्दा निकै डरलाग्दो छ । आत्महत्याको जरो सामाजिक, आर्थिक र पारिवारिक कुरासँग जोडिएर आउने मानसिक रोगविज्ञ डा पुस्कर शर्मा बताउनुहुन्छ । लकडाउनका अवधिमा क्वरेण्टीनमा नै आत्महत्या गर्नु पनि एक हिसाबले यी कुराहरुसँगै जोडिएर आउने उहाँ बताउनुहुन्छ । यदि आवश्यक परामर्श र सहयोग हुने हो भने आत्महत्यालाई पुरै निर्मूल पार्न नसके पनि केही हदसम्म कम गर्न सकिने उहाँ बताउनुहुन्छ ।