गुल्मी
असार १९
गुल्मीमा पहिरोका कारण २ जनाको मृत्यु भएको छ । अबिरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीम गएराती पानीसँगै पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनु भयो । पहिरोमा परेर ६ जना घाइते भएका छन् । पहिरोमा २ परिवारका ६ जना घाइते भएका हुन् । घाइतेहुनेहरुमा खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, ९० वर्षकी पुतली खत्री, सारु परिवारका २१ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पूर्वमन्त्री तथा संसद गोकर्ण बिष्ट पहिरो प्रभाबित क्षेत्रमै पुगेर स्थलगत अनुगमन गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । घाइतेहरु ४ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा सोहि स्थानबाटै उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो । पहिरोबाट २० घर भन्दा वढिमा क्षती भएको छ । पहिरोबाट सिङ्गो गाउँ नै ११६ घर जोखिममा रहेको छ । घर माथीबाट गएको पहिरोमा परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । पहिरो स्थलमा पुगेर सहकर्मी अनिल खत्रीले केही स्थानीयसँग कुराकानी गर्नुभएको थियो …..
त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर–२ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलमा उद्धारको लागि घटना स्थलमा रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।