देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ुएु र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखाले जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५३ सालबाट भिटामिट ुएु खुवाउँदै आइरहेको छ। प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख ३ हजार ५ सय २२ बालबालिका सहभागी हुने गर्छन्। १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा ०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको मन्त्रालयले जनाएको छ
विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ । भिटामिन ए खुवाउन लैजाँदा भौतिक दूरी कायम गर्न उहाँले अभिभाकलाई आग्रह गर्नुभएको छ । भिडभाड धेरै नहोस् भनेर देशभरका ५२ हजारवटै केन्द्रमा १ घण्टामा १० जना बालबालिकालाई मात्रै भिटामिन खुवाउन अनुरोध गरेको उहाँले बताउनुभयो ।
कोरोना भाइरसको जोखिम भएकोले कसैमा सङ्क्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न यस्तो आग्रह गरिएको उहाँको भनाई छ । भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ । यस्ता बालबालिका र आज छुटेका बालबालिकालाई भने भोलि घरघरमै गएर भिटामिन खुवाउने उहाँले बताउनुभयो ।
नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन पराजुलीले आग्रह गर्नुभएको छ ।