असार २९
भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो ।
सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएका अर्थ मन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताउनुभएको हो । नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढङ्गले जान नसुहाउने भए पनि भारतीय न्युज च्यानल दुराशायपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उहाँले बताउनुभयो ।