श्रावण ३
गुल्मीका स्थानीय तहमा अत्याधिक मात्रामा बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक बर्ष २०७५÷७६ मा कुल २३ करोड ५१ लाख १३ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । आ.व. ०७४÷७५ मा भन्दा ०७५÷७६ मा गुल्मीमा १० करोड ७५ लाख ९९ हजार बढी बेरुजु देखिएको परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । आ.व. ०७४÷७५ मा जिल्लामा कुल १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो ।
जिल्लाका सबै स्थानीय तहहरुमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाले कुल एक अर्व ९३ लाख १९ हजारको लेखापरीक्षण गराएकोमा कुल चार करोड ५४ लाख ८८ हजार बेरुजु आएको छ । जुन कुल रकमको ४.५१ प्रतिशत हो । आर्थिक बर्ष २०७४÷७५ भन्दा ७५÷७६ मा २० लाख ८७ हजार बढी बेरुजु देखिएको छ । नगरपालिकामा आ.व. ०७४÷०७५ मा चार करोड ३४ लाख एक हजार बेरुजु आएको थियो । मुसिकोट नगरपालिकापछि सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा बेरुजु देखिएको छ । कुल ७८ करोड नौ लाख ९४ हजारको लेखापरीक्षण गराएको चन्द्रकोट गाउँपालिकामा चार करोड १४ लाख ९० हजार बेरुजु देखिएको छ । जुन कुल लेखापरीक्षण गराएको रकमको ५.३१ प्रतिशत रकम हो । चन्द्रकोटमा आ.व. ०७४÷७५ मा ३५ लाख ९२ हजार बेरुजु देखिएको थियो । ०७४÷०७५ भन्दा ०७५÷०७६ मा चन्द्रकोटमा कुल तीन करोड ७८ लाख ९८ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सत्यवती गाउँपालिकाले कुल ८० करोड ९९ लाख ७६ हजारको लेखापरीक्षण गराएको थियो । जसमा दुई करोड ६८ लाख ४८ हजार बेरुजु देखिएको छ । लेखापरीक्षण गराएको कुल रकममध्ये ३.३१ प्रतिशत रकम बेरुजु देखिएको छ । आ.व. ०७४÷०७५ मा सत्यवतीको दुई करोड ८२ लाख ७० हजार बेरुजु देखिएको थियो । आ.व. ०७४÷०७५ मा भन्दा आ.व. ०७५÷७६ मा गाउँपालिकाले १४ लाख २२ हजार बेरुजु रकम घटाएको छ । ७१ करोड आठ लाख ९० हजारको लेखापरीक्षण गराएको कालिगण्डकी गाउँपालिकामा दुई करोड ५२ लाख १२ हजार बेरुजु देखिएको छ । गाउँपालिकामा कुल रकमको ३.५५ प्रतिशत रकम बेरुजु आएको छ । आ.व. ०७४÷७५ मा कालिगण्डकीमा जम्मा १५ लाख ६७ हजार मात्रै बेरुजु देखिएको थियो । तर एक आर्थिक बर्षभरीमा कुल दुई करोड ३६ लाख ४५ हजार बेरुजु रकम बढी देखिएको छ । छत्रकोट गाउँपालिकामा दुई करोड ९३ लाख २३ हजार बेरुजु देखिएको छ । कुल ७८ करोड ९७ लाख ६९ हजारको लेखापरीक्षण गराएको छत्रकोटमा लेखापरीक्षण गराएको कुल रकमको ३.७१ प्रतिशत रकम बेरुजु देखिएको हो । गुल्मीदरबार गाउँपालिकामा एक करोड ७७ लाख ५३ हजार बेरुजु देखिएको छ । ७० करोड ३४ लाख ५५ हजारको लेखापरीक्षण गराएको गाउँपालिकामा कुल रकमको २.५२ प्रतिशत रकम बेरुजु देखिएको छ ।
कुल एक अर्व नौ करोड १६ लाख ६६ हजारको परीक्षण गराएको रेसुङ्गा नगरपालिकामा एक करोड २३ लाख छ हजार बेरुजु देखिएको छ । धुर्कोट गाउँपालिकामा कुल एक करोड एक लाख २१ हजार बेरुजु आएको छ । गाउँपालिकाले कुल ९१ करोड ८८ लाख ७७ हजारको परीक्षण गराएको थियो । जसमध्ये १.१० प्रतिशत रकम बेरुजु देखिएको छ ।
७२ करोड ६६ लाख ९९ हजारको परीक्षण गराएको इस्मा गाउँपालिकामा ९३ लाख ११ हजार बेरुजु देखिएको छ । आ.व. ०७४÷७५ मा गाउँपालिकामा ७८ लाख ५५ हजार बेरुजु देखिएको थियो । मालिका गाउँपालिकाले ७७ करोड ५६ लाख ४५ हजारको महालेखा परीक्षण गराएको थियो । जसमध्ये ७६ लाख २२ हजार बेरुजु आएको छ ।
रुरुक्षेत्र गाउँपालिकामा ७१ लाख २३ हजार रकम बेरुजु आएको छ । कुल ७६ करोड नौ लाख ५९ हजारको लेखापरीक्षण गराएको गाउँपालिकामा कुल रकमको ०.९४ प्रतिशत रकम बेरुजु आएको हो । जिल्लामा सबैभन्दा कम मदाने गाउँपालिकामा बेरुजु देखिएको छ । कुल ७७ करोड नौ लाख २५ हजारको परीक्षण गराएको मदानेमा कुल रकमको ०.३३ प्रतिशत अर्थात २५ लाख १६ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । मदानेमा आ.व. ०७४÷७५ मा भन्दा आ.व. ०७५÷७६ मा २३ लाख ३० हजार बेरुजु रकम कमी आएको छ । आ.व. ०७४÷७५ मा मदाने गाउँपालिकामा कुल ४८ लाख ४६ हजार बेरुजु आएको थियो ।