गुल्मी
साउन ८ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस बुधबार , नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उहाको योगदानको चर्चा गरेका छन्। पुष्पलाल स्मृति दिवस गुल्मीमा पनि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि गुल्मी र रेसुङगा नगरकमिटिको संयुक्त आयोजनामा आज मदन आश्रित स्मृति भवन तम्घासमा ४२ औं स्मृति दिवस मनाइएको हो ।कार्यक्रममा जिल्ला कमिटि गुल्मीका सचिव बीरबहादुर कार्कीको अध्यक्षता र नगरकमिटिका अध्यक्ष हरी पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला कमिटिका नेताहरु कृष्ण सुनार, लक्ष्मण पराजुली, ज्ञानबहादुर बुढा, कृष्ण प्रसाद भण्डारी, गणेश श्रेष्ठ, धर्म सुनार, माधव ज्ञवाली, विद्यार्थी नेता काशी पाण्डे र युवा नेता मोहन पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो । वक्ताहरुले सँस्थापक महासचिव पुष्पलालले देखाएको बाटोमा हिडने प्रतिबद्धता व्यक्त गरेका थिए । दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो।