साउन ९
नेपालमा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सय ३३ जना थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर डिस्चार्ज भएकोले क्वरेण्टीनमा पाँच हजार तीन सय ८३ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । एक सय सात जना डिस्चार्ज भएका छन् । प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नौ सय एक, वाग्मतीमा चार सय ३९, गण्डकीमा तीन सय ३१, प्रदेश पाँचमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका ११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । र साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार गण्डकमा सारिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।