साउन ९
सत्यवती गाउँपालिका– ३ ठूलोलुम्पेकका रुद्र विकले गत वर्ष पहिरोमा श्रीमती र छोरासँगै घरगोठ गुमाए । श्रीमती र छोरासँगै घरगोठ गुमाएको पीडाले विक विक्षिप्त छन् । त्योसँगै एक वर्षसम्म नयाँ घरमा बस्ने सपना पनि पूरा भएन । वर्षातमा ओत लाग्ने उपाय छैन । हिउँदमा काम नै भएन । डिपिसी गरेर काम थालेका वेला लकडाउन थयो । सोहि गीउँकी नीमकुमारी सिँजालीको परिवार अहिले पनि छिमेकमै बस्छन् । उनको गत वर्ष साउनमा घरगोठसँगै पशु चौपाया बगे । पाल र छिमेक गरेर महिनौँ कटाइन् । अहिले पनि पानी परे गाउँको बलियो घर खोजेर दौडनुपर्छ । ‘घरगोठ बगेको वर्ष दिन पुग्न थाले, अझै कहाँ बस्ने ठेगान छैन, उनले भनिन्, ‘आसैआसमा दिन बिते ।’
पहिरोले बढी प्रभावित ठूलोलुम्पेकको सिङ्दी गाउँ हो । पहिरोका कारण सिँजालीसँगै कैयन घरपरिवार घरबारविहीन र विस्थापित भएका थिए । सत्यवती गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट २४ र प्रदेशमार्फत ७९ घर निर्माण गर्ने निर्णय भएको छ । तर, स्थानीय र प्रदेश सरकार दुवैको कामले गति लिएको छैन । लिम्घा, लुम्पेक र अस्लेवामा पूर्ण क्षति भएका आठ घरबाहेक अरूको काम सोचेअनुसार नभएको सत्यवती गाउँपालिकाका प्रवक्ता भीमलाल पाण्डेले बताए । दशैँ–तिहार सकिएपछि जग्गा खरिदमै महिनौँ बिते । काम सुरु गर्नेबित्तिकै लकडाउन भयो । जसका कारण पहिरोपीडित परिवारको पुनर्वास प्रभावित भएको पाण्डेले बताए । गाउँपालिकाले जग्गा खरिद गरेर पहिरोले बढी प्रभावित वडा नं. ३ ठूलोलुम्पेक सिङ्दीका ११ घरपरिवारलाई वडा नं १ अस्लेवाको काफलडाँडामा घर निर्माण गरिरहेको छ ।
सिङ्दीकै १० घरपरिवारलाई सोही वडाकै अन्य स्थान र वडा नं ४ लिम्घामा तीन घरपरिवारलाई स्थानान्तरण गर्न घर निर्माणको काम सुरु भएको पाण्डेले बताए । अहिले अस्लेवाको काफल डाका आठ घरको काम भइरहेको छ । जसमा पाँच घर सम्पन्न भएका छन् । स्थानीयलाई बजेट फ्रिज भए निर्माणको काम झन् थला पर्ने पिरलो थपिएको छ । ‘आएको बजेट काम नभएर फिर्ता भए आफूहरू कसो गर्ने,’ स्थानीय देवी सिँजालीले भनिन्, ‘राज्यले अन्याय नगरोस् ।’ सहरी विकास तथा भवन कार्यालय पाल्पाका सबइन्जिनियर निशान थापाले आफूलाई असार मसान्तसम्मको कामको जिम्मा भएकाले त्यसपछिको अवस्थाको विषयमा अनभिज्ञ भएको बताए ।