श्रावण २४
३०० भन्दा शिक्षकहरूलाई अंग्रेजी भाषा शिक्षणका नयाँ आयाम र सीपबारे जानकारी दिन भर्चुअल तालिम प्रदान गरिएको छ। नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएशन (नेल्टा) गुल्मीको आयोजना तथा जिल्लाका १२ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको समन्वयमा ३०० भन्दा बढी अंग्रेजी शिक्षकलाई तालिम दिइएको हो। नेल्टा गुल्मीका अध्यक्ष कृष्णप्रसाद मरासिनीका अनुसार कोरोना भाइरसका कारण भीडभाड गर्न नहुने भएकाले भर्चुअल तालिमको आयोजना गरिएको हो। अंग्रेजी भाषा शिक्षणमा नयाँ आयामबारे पहिले शिक्षकहरु नै बढी जानकार हुनुपर्ने र त्यसपश्चात विद्यार्थीहरुलाई ज्ञानरसीप प्रदान गर्न सहज हुने हुनाले भर्चुअल तालिम आयोजना गरिएको नेल्टा गुल्मीका सचिव रामहरी पाण्डेले जानकारी दिए।
भर्चुअल तालिम लिएपछि शिक्षकहरुलाई अंग्रेजी शिक्षण गर्न सहज भएको र तालिम प्रभावकारी भएको भन्दै आगामी दिनहरूमा पनि लामो अवधीको तालिम व्यवस्था गर्ने नेल्टा गुल्मीका अध्यक्ष मरासिनीले जानकारी दिए। अंग्रेजी भाषा शिक्षणमा ख्यातिप्राप्त वरिष्ठ विद्वानहरू प्राध्यापक डाक्टर जयराज अवस्थी, गोविन्दराज भट्टराई, लक्ष्मण ज्ञवाली, एसोसियट प्राध्यापक गंगाराम गौतम, मीरा श्रेष्ठ, उप प्राध्यापक अशोक सापकोटा, अमेरिकी राजदूतावासका विशेषज्ञ विश्वराज गौतम, ब्रिटिस काउन्सिलकी शिक्षा प्रमुख वैशाली प्रधान, हेमन्तराज दाहाल, होमराज खडका, गोपालप्रसाद बस्याल र सुनिता स्वाँरले तालिममा सहजीकरण गरेका थिए। सातवटै प्रदेशका नेल्टा अध्यक्षहरुले तालिममा सिकेको ज्ञानलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरूसँग आग्रह गरेका थिए। साउन २१ देखि सुरु भएको तालिम २३ गते समापन भएको हो।