२६ श्रावण
प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका २ जना र १ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
स्वर्गद्वारी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ६ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक चुडामणि पोखरेल बताए । पोखरेलले भने, ‘साउन २० मा १४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशलामा पठाएका थियौं । जसमध्ये एक महिलासहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै साउन १३ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आइरहेका थिए ।’
सुवेदीले भने, ‘फ्रन्टलाइनको रुपमा काम गर्दै आइरहेका व्यक्तिहरुको कोरोना परीक्षण गर्दै आइरहेका छौं । यसैक्रममा ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना सैनिकमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु गणकै आन्तरिक क्वारेन्टिनमा बस्दै आइरहेका थिए ।’ मल्लरानी गाउँपालिका–५ की ३९ वर्षीया महिला र वडा नम्बर १ का २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत पारस शाहीले बताए ।