अर्घाखाँची
भदौ १०- अर्घाखाँचीमा लकडाउनलाई निरन्तरता दिइने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो । कोभिड १९ को महामारी बाट सुरक्षित राख्न लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । समुदायमा स्तरमा कोरोना फैलिदै गएपछि यसको नियन्त्रणको लागि लकडाउनलाई निरन्तरता दिइएको उहाले बताउनुभयो । लकडाउनको अबधिमा एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षाकर्मी, ईन्धन, ग्याँस,अत्यावश्यक खाद्य पदार्थ, कृषिजन्य पदार्थ,पशुजन्य पदार्थ ,स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालय बाट अनुमति प्राप्त सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न पाइने छैन । खाद्यान्न पसल,तरकारी तथा फलफूल पसल, माछामासु पसल, दुधडेरी तोकिएको समयमा खोल्ने , अन्य पसल व्यवसाय ,होटल, रेष्टुरेन्ट लगायत सम्पूर्ण व्यवसाय पुर्ण रुपमा बन्द हुनेछन ।लकडाउनको अबधिमा सरकारी कार्यालय ,बैंक ,बिमा कम्पनी, वित्तीय कारोबार गर्ने सहकारी संस्था खुल्ला रहेपनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगरिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको सुचना विपरीत कसैले गतिविधि संचालन गर्ने गराउने गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।