राधा पोख्रेल
गुल्मी, भदौ १६ – गुल्मीको धुर्कोट गाउँपालिकाले अभिभावक विहिन बालबालिकाहरूको लागि शैक्षिक सामाग्री वितरण गरेको छ । आज (मंगलबार) गाउँपालिकाको केन्द्र बर्बोटमा १६ जना अभिभावक विहिन बालबालिकाहरूका लागि शैक्षिक सामाग्री वितरण गरिएको हो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि पोसाक, स्विटर, झोला, कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । पहिलो चरणमा १६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको गाउँपालिकाले ५० जना विद्यार्थीहरूलाई वितरण गर्ने लक्ष्य लिएको छ । लकडाउनको समयमा विद्यालय जान नपाएका तथा घरमा समेत पढ्न नपाएका अभिभावक विहिन बालबालिकालाई पढाइमा सहजता प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष शिव बहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, शिक्षा अधिकृत मधु प्रसाद घिमिरे लगायतकाको उपस्थिती रहेको थियो ।