अजय खड्का
२२ भदौ,
गुल्मी
गुल्मीमा एक जना युवाको हत्या गरेर नगद र जिन्सी समान चोरी भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– १ हस्तिचौरको छिन्ना खेलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक कुँवरको टाउको र शरिरको अन्य भागमा कुटपिट गरेर नगद र जिन्सी समान चोरी भएको प्रहरीले जनाएको छ । मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल सञ्चालन गर्दै आएका थिए ।
मृतक कुँवरका दाई बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताउनु भयो । होटलबाट नगद रु ३५ हजार, १० हजारको एनसेलको रिचार्ज र होटलमा भएका खुकुरी रम र डायमण्ड मदिरा पनि चोरी भएको प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
अचेत कुँवरको उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याएको केहि समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।
Aa