भाद्र २३
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो । भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा निवेदन बुझाउनुपर्ने नियम छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले बताए । पशु सुत्केरी भत्ताका लागि नगरपालिकाले यो वर्ष २० लाख रुपैयाँ वजेट छुट्याएको खनालले जानकारी दिए । एउटै मात्र गाई वा भैंसी सुत्केरी हुनेदेखि व्यवसायिक किसान सबैले सुतकेरी भत्ता पाउने कार्यविधि बनेको छ । नगरपालिकाका १० हजार घरधुरीमध्ये ६० प्रतिशत भन्दा बढी परिवारले पशुपालन गरेका नगरपालिकाको आंकलन छ ।
अर्घाखाँचीमा दूध उत्पादनको प्रचूर सम्भावना भएकाले सदरमुकामको नगरपालिकाबाट शुरु भएको कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गरेर जिल्लाव्यापी बन्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा बताउँछन् । ‘गाई भैंसी सुत्केरी हुँदा भत्ता दिने कार्यक्रम प्रदेशकै पहिलो हो’ उनले भने, ‘दुधको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन यस्ता प्रोत्साहनमुखी कार्यक्रम सबै स्थानीय तहले ल्याउनु राम्रो हो ।’ नगरपालिकाले पशु बिमा गर्ने किसानलाई किसानले बेहोर्नुपर्ने रकमको ५० प्रतिशत लगानी अनुदान दिने नीति पनि लिएको छ । पशु बिमाका लागि यो वर्ष ६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।