११ असोज
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अनुदानबाट प्रदान गरिने ट्याक्टरबाट ठेकेदारले रकम उठाएको खुलेको छ । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो । तर उनीहरुसँगबाट प्रति ट्याक्टर एक हजार पाचँ सयका दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको छ । ‘ट्याक्टर लिन जाँदा एक्कासी १५ सयका दरका मागियो, हामी त अचम्म प¥यौ ।’ किसान बाबुराम ज्ञवालीले भन्नुभयो, ‘बिना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।’ फिटिङ गरेको, तेल तथा यातायात खर्चको बाहाना बनाएर उनीहरुले रकम असुली गरेको ज्ञवालीले बताउनुभयो । त्यसभन्दा पहिले नै ट्याक्टरको ५० प्रतिशत मुल्य ३२ हजार पाचँ सय आफुहरुले बैंकमा जम्मा गरेको भन्दै उनले एक हजार पाचँ सय बुझाउनेबारे कुनै जानकारी नभएको बताउनुभयो । अर्का किसान सुब्बा बस्नेतले पनि गैरकानुनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानहरुबाट रकम असुली गरेको गुनासो गर्नुभयो । ‘३÷४ बर्षमा एउटा ट्याक्टर पाएको, धेरै बोल्ने कुरा भएन, बोल्न पनि जानिएन ।’ उहाँले भन्नुभयो, ‘ट्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भएपनि दियौँ र ट्याक्टर ल्यायौँ ।’ तर उक्त रकम किन र कुन प्रयोजनको लागि तिरेको भन्ने बारेमा आफु अझै पनि अनविज्ञ भएको उहाँले बताउनुभयो । ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानहरुबाट रकम उठाइएको भन्दै उहाँले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानुनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग गर्नुभयो । सप्लायर्स कम्पनीले ३४ जना किसानहरुबाट प्रति किसान एक हजार पाचँ सयका दरले कुल ५१ हजार गैरकानुनी ढङ्गबाट असुली गरेको छ ।
गाउँपालिकाले आ.व. ०७६÷७७ मै ट्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो । तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानहरुलाई ट्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले आरोप लगाउनुभयो । ‘ट्याक्टरको लागि आवश्यक ५० प्रतिशत रकम किसानहरुले पहिले नै बुझाउनुभएको थियो ।’ उहाँले भन्नुभयो, ‘पछि बुझाउने रकमबारे पूर्व जानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।’
गाउँपालिकाकाले गत आ.व.को कार्यक्रमअन्तरगत वडा नम्बर १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नम्बर ६ मा चारजना किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ । उक्त कार्यको लागि ११ लाख ५० हजार गाउँपालिका र त्यत्ति रकम किसानले जम्मा गरेको गरिएको गाउँपालिकाका सुचना अधिकारी इश्वरी न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिश पाण्डेले आफुहरुले सकेसम्म न्यून दरमै किसानहरुलाई ट्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिनुभयो । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बाहानामा किसानहरुबाट रकम उठाएको उहाँले बताउनुभयो । तर यसमा आफुहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उहाँले प्रष्ट पार्नुभयो ।