११ असोज
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार दिउसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख पृथ्वी काफ्लेले बताए । सडक एक तर्फी खुलेपछि रोकिएका सवारी सधानहरु गन्तव्यतर्फ लागेका छन् । अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको थियो । राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला, झुम्सा, सिसुवा, दोभान तथा सिद्धबाबा क्षेत्रमा ठूला ठूला ढुङ्गासहित खसेको पहिरो डोजरले समेत हटाउन नसक्दा तीन दिनसम्म तानसेन बुटवल सडक ठप्प भएको हो ।