असौज १४,
नेपाल विद्युत् प्राधिकरणले भदौ महीनाको विद्युत् महसुल बुझाउँदा २२ असोजसम्म जरिवाना नलिने निर्णय गरेको छ। २३ देखि ३० असोजसम्ममा महसुल बुझाउँदा भने पाँच प्रतिशत मात्रै जरिवाना लिने गरी निर्णय भएको छ ।
भदौको महसुल भुक्तानी गर्दा जरिवाना तिरिसकेको ग्राहकको हकमा भने असोजको महसुल तिर्दा उक्त रकम समायोजन गर्ने प्राधिकरणको भनाइ छ।
कोभिड १९ का कारण देशभरका अधिकांश स्थानमा मिटर रिडिङ गर्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै उपभोक्ताको सुविधा तथा हितको लागि महसुलमा छुट तथा थप दस्तुर नलाग्ने व्यवस्था गरिएको हो।
ऊर्जामन्त्री वर्षामान पुनले प्राधिकरणका अधिकारीलाई मंगलबार मिटर रिडिङ नभएका कारण विद्युतका ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए। मन्त्री पुनको निर्देशनपछि प्राधिकरणले बुधबार एक सूचना जारी गरी भदौ महीनाको महसुलमा जरिवाना नलिने र छुट दिने निर्णय गरेको हो।
मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिएका छन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन मन्त्रीले प्राधिकरणलाई सुझाव दिएका छन्।