असौज १९
मुसिकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले गत आर्थिक बर्ष २०७६÷७७ मा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा गरिएको छ ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा गोष्ठीमा आमा सुरक्षा कार्यक्रमको यातायाता सुविधा निरन्तर प्रवाह भएको, सबै स्वास्थ्य संस्थामा औषधीको प्रयाप्तता भएपनि केही आवश्यक भौतिक संरचना र सामाग्रीहरुको अभाव रहेको,बिसीजि खोप लगायतका अन्य केही खोपहरु खेर जाने दर बढीरहेकाले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताईएको छ ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सहप्रमुख पुष्कर गौतमका अनुसार, नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य केन्द्र र ईकाईहरुले स्वास्थ्य शाखामा आफ्नो स्वास्थ्य विवरण पठाएका छन् । मुसिकोट नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य ईकाई संस्था,३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा आधारभूत स्वास्थ्य केन्द्र, ५ वटा बर्थिङ सेन्टर ,३१ व्टा खोप क्लिनिक र २४ वटा गाउँघर क्लिनिक रहेका छन् ।
उक्त अवसरमा ९ वटै वडामा रहेका स्वास्थ्य केन्द्र र ईकाईका प्रमुखहरु आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य सुचकहरुको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेका प्रमुख स्वास्थ्य समस्याहरु,स्वास्थ्य सुचनाको व्यवस्थापनको वर्गीकरण लगायतका विषयमा जानकारी गराएका थिए ।