कमल पौडेल
२१ असोज
बागलुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले जनता राज्यप्रति उत्तरदायी हुनुपर्ने र राज्य जनताप्रति जवाफदेहि हुँदा मात्र समृद्ध नेपाल बन्ने बताउनु भएको छ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सवै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ।
नेपालमा जबसम्म करको दायरा वढ्दैन तवसम्म राज्यको आम्दानी नवढ्ने र कम आम्दानी भएपछि विकास पनि कम हुने बताउँदै मन्त्रि गुरुङले राज्य कमजोर भएकोले भ्रष्टाचार वढेकोले राज्यलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। देशमा स्वतन्त्रताको नाममा अराजकता वढेको भन्दै स्वतन्त्रताको पनि सिमा हुने मन्त्रि गुरुङले बताउनु भएको छ।
कार्यक्रममा प्रदेश सांसद इन्द्रलाल सापकोटाले जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो काममा चुस्तता देखाउनु पर्ने बताउनु भएको छ। जनताले संघियताको सहि अनुभूति गर्न नसकेको भन्दै काममा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्ष समेत रहनुभएका साँसद सापकोटाले अहिले सवैको साझा दायित्व आर्थिक सम्वृद्धि नै रहेकोले सवै वस्तिहरुलाई उत्पादन संग जोड्नुपर्ने बताउनु भएको छ।
त्यस्तै प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले तिन तहकै सरकार, राजनैतिक दल कोभिड १९ मा केन्द्रित हुनुपरेको भन्दै विषम परिस्थितिमा समेत भौतिक विकासमा अगाडि वढिरहेको भन्दै बडिगाड गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले निर्वाचनका वेला गरिएका धेरै प्रतिवद्धता पुरा गरेको र वाँकी काम आगामी २ वर्षमा सक्ने विश्वास व्यक्त गर्दै जनतासँग समिक्षा गर्ने समय भएको बताउनु भएको छ।
त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य सुनिल शेरचन, नेपाली काग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, राष्ट्रिय जनमोर्चाका भिमसेन बन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले बडिगाड गाउँपालिकाको चिनारी गराउनु भएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो।
बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा जिल्लामै पहिलो पटक गाउँपालिकाको प्रशासनिक भवन वन्न लागेको हो। सो भवन निर्माणको लागि निर्माण कम्पनी माउण्टेन कविन्द्र जेभिले ५ करोड १८ लाख ५४ हजार ८ सय १९ रुपैयामा २०७८ मंसिर १६ गते सम्म निर्माण सम्पन्न गर्नेगरि ठेक्का लिएको छ। भवनको लागि बडिगाड गाउँपालिकाले २ करोड तथा गण्डकी प्रदेश सरकारले २ करोड गरी कुल ४ करोड चालुवर्षमै विनियोजन गरेका छन्। सो भवन निर्माण गर्नको लागि स्थानियहरुले ९ रोपनी बढि जग्गा गाउँपालिकाको नाममा निशुल्क प्रदान गरेका थिए ।